पोखरा । मुद्दामाथि मुद्दाको जालोमा घेरिएको गण्डकी प्रदेश सरकार लामो समयदेखि तदर्थमा चलेको छ । नेकपा एमालेले विश्वासको मतको सन्दर्भ उठाएर दायर गरेको रिट र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालेको भ्याकेटको सुनुवाइका लागि पेसी सरेको सर्यै गर्दा सरकारी कामकाजसमेत प्रभावित भएका छन् ।
असोज २० गते एमालेले रिट दर्ता गराएकामा पहिलो आदेशबाहेक ४ पटक पेसी सरिसकेको छ । सरकारले कात्तिक १८ गते दर्ता गराएको भ्याकेट निवेदनमा समेत ४ पटक नै पेसी सरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ला र चन्द्रबहादुर सारुको इजलासमा सुनुवाइ तोकिए पनि हेर्न नभ्याइने सूचीमा राखिएको छ । दिउँसो १ बजे फूलकोर्टको बैठक बस्ने भएकाले गण्डकी सरकारको मुद्दा सुनुवाइका लागि पहिलो नम्बरमै परे पनि सुनुवाइ हुन नसकेको हो ।
यसअघि असोज २१ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले मुख्यमन्त्री पाण्डेलाई दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म नयाँ नियुक्ति, कानुन संशोधन वा परिवर्तन र अध्यादेश जारी गर्नेजस्ता दीर्घकालीन महत्वका निर्णय नगर्न रोक लगाएको थियो ।
सोही एकपक्षीय सुनुवाइका आधारमा जारी भएको अन्तरिम आदेश संवैधानिक र कानुनी आधारविहीन रहेको जिकिर गर्दै प्रदेश सरकारले खारेजीको माग गरेको छ । लामो समयसम्म मूल रिटको किनारा नलाग्दा सरकारको कार्यसम्पादनसमेत प्रभावित भएको सरकारकै मन्त्रीहरूले बताउँदै आएका छन् । ‘अदालतले यसलाई तत्काल सुनुवाइ गर्न नचाहेको हो वा आन्तरिक प्रक्रिया हो, त्यसबारे भन्न सक्दिनँ । तर नियमित रिटको पेसी समयमै भइदिएको भए राम्रो हुन्थ्यो,’ सरकारका एक मन्त्रीले भने ।
सरकारले कात्तिक १८ मा भ्याकेट निवेदन दर्ता गराएपछि १९ गतेका लागि पेसी तोकिएको थियो । तर विपक्षीले प्रतिवादको अवसर मागेपछि सुनुवाइ २० गतेका लागि सारिएको थियो । त्यो दिन पनि सुनुवाइ हुन सकेन ।
मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलका अनुसार सर्वोच्च अदालत नियमावली २०७६ को नियम ५० को उपनियम १, २ र ३ अनुसार एकपक्षीय सुनुवाइबाट जारी भएको अन्तरिम आदेश खारेज गराउन अर्को पक्षले आधार र कारण खुलाएर निवेदन दिन सक्छ । सोही व्यवस्थाअनुसार सरकारले भ्याकेट दर्ता गराएको हो ।
सरकारले भ्याकेटमा सबैभन्दा पहिले रिट निवेदकको हकदैया र वैकल्पिक उपचारको उपलब्धताको प्रश्न उठाएको छ । संविधानको धारा १३३ अनुसार सर्वोच्च अदालतमा रिट दायर गर्न मौलिक हकमा अनुचित बन्देज लागेको, कानुन संविधानसँग बाझिएको वा सार्वजनिक हक तथा सरोकारको विषयमा अर्को प्रभावकारी उपचार नभएको अवस्था देखाउनुपर्ने सरकारको तर्क छ ।
तर एमालेका तर्फबाट दायर रिटमा त्यस्तो अवस्था पुष्टि नभएको पौडेलको दाबी छ । ‘न त मौलिक हक हनन भएको देखाइएको छ, न कुनै कानुन संविधानसँग बाझिएको भनिएको छ । न अर्को उपचारको व्यवस्था नभएकाले सर्वोच्च आएको भन्ने आधार छ,’ उनले भने ।
रिट निवेदक आफैं प्रदेश सभा सदस्य रहेको उल्लेख गर्दै पौडेलले प्रदेश सभामै विश्वासको मत परीक्षण गराउने विकल्प हुँदाहुँदै सर्वोच्च आउनुपर्ने अवस्था नरहेको तर्क गरे ।
सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएको भन्ने रिट निवेदकको दाबीलाई पनि चुनौती दिएको छ । राप्रपाले सरकारबाट बाहिरिएको वा समर्थन फिर्ता लिएको आधिकारिक निर्णय रिटसँगै पेस नगरिएको पौडेलको भनाइ छ ।
‘राप्रपाले समर्थन फिर्ता लिएको हो भने त्यसको निर्णय पेस गर्नुपर्थ्यो । त्यसो गरिएको छैन । राप्रपाले समर्थन फिर्ता लिएको भन्ने हकदैया नै नभएको व्यक्तिको दाबीका आधारमा मुख्यमन्त्री अल्पमतमा परेको निष्कर्ष निकाल्न मिल्दैन,’ उनले भने ।
भ्याकेट निवेदनमा संविधानको धारा १६८ को उपधारा २ र धारा १८८ को उपधारा २ को अन्तरसम्बन्धलाई अर्को महत्वपूर्ण आधार बनाइएको छ । संविधानको धारा १८८ को उपधारा २ मा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
तर यो व्यवस्था लागू हुन सरकार गठनका बेला धारा १६८ को उपधारा २ अनुसार समर्थन दिएको हुनुपर्ने सरकारको तर्क छ । सरकार गठनका क्रममा समर्थन नै नदिएको दलले पछि समर्थन फिर्ता लिएको भन्न नमिल्ने मुख्य न्यायाधिवक्ता पौडेलको जिकिर छ ।
‘धारा १६८ को उपधारा २ बमोजिम सुरेन्द्रराज पाण्डेलाई समर्थन दिएको र पछि त्यही समर्थन फिर्ता लिएको भए १८८ को उपधारा २ अनुसार विश्वासको मत लिनुपर्छ भन्ने कुरामा हामी सहमत छौं । तर समर्थन नै नदिएको अवस्थामा कसरी फिर्ता लिएको भन्ने प्रश्न उठ्छ,’ उनले भने ।
यसका लागि सरकारले कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीसम्बन्धी विवादमा स्थापित संवैधानिक व्याख्यालाई समेत सान्दर्भिक मानेको छ । धारा १६८ र १८८ लाई अलगअलग नभई सामञ्जस्यपूर्ण रूपमा व्याख्या गर्नुपर्ने पौडेलको भनाइ छ ।
त्यस्तै, रिट निवेदकले एमालेको संसदीय दलको उपनेताको हैसियतमा पार्टीको निर्णयअनुसार अदालत प्रवेश गरेको विषयलाई पनि सरकारले उठाएको छ । राजनीतिक दलले आफ्नो अनुकूलताअनुसार अदालतमा फरकफरक संवैधानिक अडान लिन नपाउने सरकारको तर्क छ ।
पौडेलले केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला सत्ता साझेदार दल सरकारबाट बाहिरिँदा विश्वासको मत लिनु नपर्ने अडान एमालेले लिएको प्रसंग उल्लेख गरे । अहिले भने त्यही दलले गण्डकीमा समर्थन फिर्ता लिएको आधारमा विश्वासको मत लिनुपर्ने जिकिर गर्नु विरोधाभासपूर्ण रहेको उनले बताए ।
सरकारले वैकल्पिक सरकारको नेतृत्व र बहुमतको आधार नदेखाइएको विषय पनि भ्याकेटमा उठाएको छ । मुख्यमन्त्री अल्पमतमा परेको दाबी गर्ने पक्षले प्रदेश सभामा बहुमत पुर्याउन सक्ने अर्को नेतृत्वको विकल्पसमेत प्रस्तुत गर्नुपर्ने पौडेलको तर्क छ ।
‘मुख्यमन्त्री अल्पमतमा हुनुहुन्छ भन्ने दाबी गर्नेले बहुमतमा म छु वा मेरो संसदीय दलको नेता फलानो हो भनेर वैकल्पिक नेतृत्वको आधार पनि दिन सक्नुपर्छ । तर रिटमा मुख्यमन्त्रीको विकल्प को हो भन्ने स्पष्ट छैन,’ उनले भने ।
रिटमा एमालेका २२ र माओवादी केन्द्रका ६ गरी २८ सांसदको संख्या उल्लेख गरिएको छ । तर ५९ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३० सांसद आवश्यक पर्ने भएकाले त्यसले बहुमत पुष्टि नगर्ने सरकारको दाबी छ ।
यससँगै सरकारले संसदीय सर्वोच्चताको सिद्धान्तसमेत उठाएको छ । सरकारको बहुमत परीक्षण गर्ने प्राथमिक थलो प्रदेश सभा भएकाले संसदभित्रै समाधान खोज्न सकिने विषयलाई अदालतमा ल्याउनु उचित नभएको पौडेलको भनाइ छ ।
‘संसदीय सर्वोच्चताको अभ्यास संसदमा सहजै गर्न सकिने विषयलाई अदालतमा ल्याएर न्यायालयलाई विवादमा तान्नु उचित होइन । यस्ता विषयमा अदालतले न्यायिक संयम अपनाउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ,’ उनले भने ।
एमाले गण्डकी प्रदेश सभा संसदीय दलका उपनेता लिलबहादुर थापा मगरले संसदीय दलको तर्फबाट अधिकार प्राप्त व्यक्तिका रूपमा असोज २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा एमालेले भदौ १० गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डे अल्पमतमा परेको दाबी गरिएको थियो ।
संविधानको धारा १८८ को उपधारा २ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा असोज ९ गतेसम्म पनि नलिएकाले मुख्यमन्त्रीको संवैधानिक हैसियत समाप्त भएको एमालेको जिकिर छ । एमालेले असोज ९ गतेपछि सरकारले गरेका दैनिक प्रशासनिक कामबाहेकका निर्णय बदर गर्नसमेत माग गरेको छ ।
५९ सदस्यीय गण्डकी प्रदेश सभामा सरकार गठन र बहुमतका लागि ३० सांसद आवश्यक पर्छन् । एमालेले आफ्ना २२, माओवादी केन्द्रका सभामुखबाहेक ५ र राप्रपाका २ गरी विपक्षी कित्तामा २९ सांसद रहेको दाबी गरेको छ । विपक्षी कित्ताको २९ र सभामुखसहित संख्या ३० पुग्ने एमालेको दाबी छ ।
तर राप्रपाका २ सांसदले समर्थन फिर्ता नलिएको अवस्थामा उनीहरूलाई विपक्षी कित्तामा गणना गर्न नमिल्ने नेपाली कांग्रेसको तर्क छ । मुख्यमन्त्री पाण्डेलाई कांग्रेसका सांसद, राप्रपाका २ सांसद र माओवादीको चुनाव चिह्नबाट निर्वाचित फडिन्द्र देवकोटाको समर्थन कायम रहेको सरकार पक्षले बताउँदै आएको छ ।
गण्डकीमा सरकारको बहुमतसम्बन्धी विवाद यसअघि पनि सर्वोच्च अदालत पुगेको थियो । २०७९ पुस २५ गते एमालेका खगराज अधिकारी पहिलोपटक मुख्यमन्त्री बनेका थिए । सत्ता समीकरण फेरिएपछि २०८० वैशाख १४ गते कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बने ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पाण्डेले राजीनामा दिएर २०८० चैत २५ गते अधिकारी पुनः मुख्यमन्त्री बनेका थिए । तर सभामुखको मतसमेत गणना गरेर बहुमत दाबी गरिएको भन्दै पाण्डे सर्वोच्च पुगेपछि अदालतले अधिकारीको नियुक्ति र विश्वासको मतलाई बदर गरिदिएको थियो ।
त्यसपछि २०८१ जेठ १६ गते पाण्डे दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि २०८१ भदौ १७ गते एमाले पनि पाण्डे नेतृत्वको सरकारमा सहभागी भएको थियो । तर गत भदौ १० गते एमालेले समर्थन फिर्ता लिएपछि गण्डकी सरकारको बहुमतसम्बन्धी विवाद पुनः सर्वोच्च अदालत पुगेको हो






