राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किनुभएको छ ।
शुक्रवार अजरबैजानको भ्रमण पूरा गरी उहाँ स्वदेश फर्किनुभएको हो । कार्तिक २६ गतेबाट अजरबैजानको बाकुमा शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप २९) मा सहभागी भइ राष्ट्रपति पौडेल स्वदेश फर्किनुभएको हो । उहाँलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु पुग्नुभएको थियो । राष्ट्रपति पौडेलले कोप २९ अन्तर्गत कात्तिक २७ गते अजरबैजाको बाकुमा उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नुभएको थियो । त्यस्तै, सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले अजरबैजान र मालदिभ्सका समकक्षीसँग भेटघाट गर्नुका साथै संयुक्त राष्ट्र सङ्घका महासचिवले आयोजना गर्नुभएको कार्यक्रममा समेत सहभागी हुनुभएको थियो ।