पोखरा । भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा अछामका चार जना, कैलालीका दुइ जना र बाँकेका एक जना छन् ।
मृत्यु हुनेमा अछाम मंगलसेनका ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी छन् ।
यसैगरी कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी छन् भने बाँकेको डंडुवाका ३२ वर्षीय राधेश्याम राधको पनि सोही दुर्घटनामा मृत्यु भएको छ ।
साथै दुर्घटनामा चार जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन तथा घाइतेको शीघ्र उपचारका लागि सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
माघ ९ गते साँझ करिब ५ः०५ बजे भारतको महाराष्ट्र राज्यअन्तर्गत जलगाउँ जिल्लाको परधाडे स्टेसन नजिकै रेल दुर्घटनामा भएको थियो । दुर्घटनामा परी १२ जनाको मृत्यु भएको बताइएको छ ।






