पोखरा । खराब बलिङ सामना गरेपछि नेपालले बुधवार नेदरल्याण्ड्सँग १० विकेटको लज्जास्पद हार सामना गरेको छ ।
ब्याटिङ चलेको खेलमा बलिङमा साथ नपाएपछि नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा पाँचौं हार सामना गरेको हो । नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मलित त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेल नेपालले आगामी शुक्रवार थाइल्याण्डसँग खेल्नेछ ।
नेपालले डच टोलीसँग तीन खेलमा हार व्यहोरेको हो । ओपनरद्वय स्टेर कालिसको सानदार इनिङ प्रेरणामा नेदरल्याण्ड्सले फराकिलो जित निकालेको हो ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पूजा महतोको अर्धशतक प्रेरणामा नेपालले १४६ रनको लक्ष्य दिएको थियो । तर नेपालले खराब बलिङ गरेपछि नेदरल्याण्ड्सले १९दशमलव४ ओभरमा बिना विकेट लक्ष्य भेट्टायो ।
नेदरल्याण्ड्सका ओपनरद्वय स्टेर कालिस र फेबे मोल्केनबोइरले एक सय ५१ रनको अविजित साझेदारी गर्दै जित दिलाए । कालिस ९८ रन र फेबे ४८ रनमा अविजित रहे ।
कालिसले बलमा ११ चौका र दुई छक्का हिर्काइन् । फेबे मोल्केनबोएरले ४९ बलको सामना गर्दा चार चौका हिर्काइन् ।
शृंखलामा यो सबैभन्दा ठूलो रनको साझेदारी पनि हो । नेपालकी सीता रानामगर सबैभन्दा महंगो बलर सावित भइन् । तीन ओभरमा सीताले २६ रन खर्चिइन् ।
यसअघि युवा ब्याटर पूजाको अर्धशतकीय इनिङप्रेरित नेपालले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ४५ रनको योगफल खडा गरेको थियो । ५१ बलमा पूजाले पाँच चौकासहित अविजित ६२ रनको योगदान गरिन् ।
श्रृंखलामा नेपाली खेलाडीको यो पहिलो अर्धशतक पनि हो । अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टीमा पूजाको यो दोस्रो अर्धशतक हो ।
यसअघि पूजाले गत वर्ष एसिसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ५९ रनको इनिङ खेलेका थिए । पूजाले कप्तान इन्दु बर्मासँग तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरिन् । इन्दुले ३९ रन जोडिन् ।
उनले ३७ बलमा पाँच चौका हिर्काइन् । पूर्वकप्तान रुबिना क्षेत्रीले २० रन जोड्दा कविता जोशी सात रनमा अविजित रहिन् ।
नेपालको शुरुवात राम्रो हुन सकेन । ओपनरद्व सम्झना खड्का र ममता चौधरी दोहोरो अंकमा रन जोड्न असफल भए । यद्यपि पूजा चम्किककंएपछि नेपालले राम्रो योगफल बनाएको थियो । तर बलिङमा साथ पाउन सकेन ।
नेदरल्याण्ड्सको बलिङमा आइरिस ज्विलिङले चार ओभरमा दुई विकेट लिइन् । क्योरोलिन डी लेन्ग र हेथर सेगर्सको नाममा समान एक विकेट रह्यो । यसअघि नेपालले नेदरल्याण्ड्ससँग २० र १५ रन तथा थाइल्याण्डसँग चार विकेट र पाँच रनको हार व्यहोरेको थियो ।
नेदरल्याण्ड्ले यसअघि थाइल्याण्डसँग आठ विकेट र १७ रनको हार व्यहोरेको थियो । यो जितले डच टोलीको उपाधि होड जीवन्त छ । अब नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डको सामना गर्नेछ । नेपालले भने आफ्नो अन्तिम खेलमा थाइल्याण्डसँग खेल्नेछ ।






