पोखरा । काठमाडौँस्थित पशुपतिनाथको छाया दर्शन पर्व मङ्गलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ ।
प्रत्येक वर्ष माघशुक्ल चतुर्दशीका दिन मनाइने छाया दर्शन पर्व सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थाली हिउँद ओरालो लाग्दा मनाउने गरिन्छ ।
यस दिन पशुपतिनाथ मन्दिरमा विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिङ्गको छाया दर्शन गराउने चलन छ ।
भक्तजनले पशुपतिनाथको शिव लिङ्गको पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन छ । यसरी पूजा अर्चना सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिव लिङ्गको छाया प्रतिविम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाइन्छ ।
यस दिन पशुपतिमा आराध्यदेवको प्रतिमाको छाया हेर्न भक्तजनको घुइँचो लाग्छ । छाया दिउँसोदेखि साँझको आरती अघिसम्म हेर्न पाइन्छ ।
पशुपतिनाथमा छाया दर्शन हेर्न हजारौँ भक्तजन भेला भएका थिए । सनातनदेखि पवित्र वाग्मती नदीको प्रवाहले सिञ्चित पाशुपत क्षेत्रभित्र करिब चार सय ९२ साना ठुला विभिन्न शैलीका मन्दिर, सत्तल, ढुङ्गेधारा, देवालय, मठलगायत करिब एक हजार शिव लिङ्ग छन् ।
पशुपतिनाथलाई सनातन सभ्यताको केन्द्रबिन्दुका रुपमा इतिहास बोकेको विश्वभरिका हिन्दूको आराध्यदेवको रुपमा मानिन्छ ।






