पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज किरण गुरुङले आगामी निर्वाचनबाट एमाले बलियो र देशकै प्रमुख शक्ति बन्ने बताएका छन् ।
नेकपा एमाले वडा कमिटी पोखरा-१७ ले आयोजना गरेको भेटघाट कार्यक्रममा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्रीसमेत रहेका गुरुङले मुलुकको विकास र समृद्धि एमालेबाट मात्रै सम्भव भएको स्पष्ट पारे ।
राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले मिलेर सरकार सञ्चालन गरेको र सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने गरी काम गरिरहेको उनले बताए ।
एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले देश र जनताको भलो चाहने पार्टी एमालेमात्र भएको बताए ।
उनले सरकारले जनताको पक्षमा काम गरेपछि केही तत्व रिसले चूर भएको र उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराबन्दीमा पार्न खोजेको बताए ।
गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले अब जनतामा गएर उनीहरुका पीर मर्का सुन्ने काम गरिने बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य चूडामणि जंगली, केन्द्रीय सदस्य एवं कास्की जिल्ला इञ्चार्ज कृष्ण थापा, कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी, जिल्ला सदस्य सुवास ढुंगाना, भूमि समस्या समाधान आयोग कास्की अध्यक्ष बैनबहादुर गुरुङ, पोखरा-१७ की वडाध्यक्ष राधिका शाही योगीलगायतले एमाले अब जनताका घर आगनमा गएर पिर मर्का बुझ्नुपर्ने र सरकारले गरेका राम्रा काम जनतालाई स्पष्टसँग भन्नुपर्नेमा जोड दिएका थिए ।
एमाले पोखरा १७ का अध्यक्षसमेत रहेका कार्यक्रमका सभापति विक्रम गुरुङले पार्टीभित्र भाइचरा सम्बन्ध बलियो बनाउने र यस्तै रचनात्मक काम गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा उपसचिव एवं कार्यक्रम संयोजक सविता भण्डारी सुवेदी स्वागत र सचिव उत्तम सिग्देलले सञ्चालन गरेका थिए ।






