पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक भोलाबहादुर रावलले सुरक्षाबिना कुनै कुरा पूर्ण नहुने भन्दै प्रहरी जनताकै साथमा रहेर अघि बढिरहेको बताएका छन् । पोखरा महानगरपालिका वडा नं १८ सेदीस्थित नवनिर्मित प्रविधियुक्त प्रहरी बिटको उद्घाटन गर्दै रावलले यस्तो बताएका हुन् ।
हरेक क्षेत्रमा सुरक्षा आवश्यक हुने र त्यसका लागि नेपाल प्रहरीको दायित्व महत्वपूर्ण भएको उनले बताए । रावलले भने, ‘स्थानीय शान्ति, सुरक्षा मजबुत बनाउन र अपराधिक गतिविधि नियन्त्रणमा प्रहरी बिटले महत्वपूर्ण भूमिका खेल्छ र आसपास क्षेत्रका नागरिकले प्रहरी सेवामा सहज पहुँच पाउने विश्वास छ ।’
उनले प्रहरीलाई विश्वास गरेर नागरिक स्तरबाट सुविधायुक्त प्रहरी बिटको स्थापनामा हातेमालो र आवश्यकताका लागि ध्यानाकर्षण गरे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले नागरिकको सुरक्षामा कुनै कसुर नराखिने स्पष्ट पारे ।

वाइयूके सुपर मार्केटका संचालक युवराज खतिवडाले चार वर्ष अघि सेदीमा आउँदा पश्चिम रुकुम जस्तो अनुभूति गरेको बताए । उनले भने, ‘मलाई लाग्यो अब यहाँ केही विकासको काम गर्नुपर्छ र सुरक्षाको बन्दोबस्त गर्नुपर्छ ।’
‘यहाँ विकासको खाँचो छ र विकासका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन आवश्यक छ भनेर म अघि बढेको हुँ’, खतिवडाले भने, ‘प्रहरी विट स्थापनाका लागि जनप्रतिनिधि रमेश थापा, सामुदायिक प्रहरी जिल्ला समन्वय समिति अध्यक्ष भीम पराजुली, राम राईलगायत स्थानीयको ठूलो भूमिका छ ।’
उनले भने, ‘सेदीको सुरक्षाका लागि बैदामबाट वा पामेबाट प्रहरी आउन ढिलो हुने र पर्यटकीय क्षेत्रमा पर्यटक, व्यापार व्यवसाय सबैतिर समन्वय गर्न गरिएको पहल आज नतिजामा परिण भएको छ, निकै खुशी लागेको छ ।’
खतिवडाले लगानी गर्न र त्यसको प्रवर्द्धनका लागि सुरक्षा पहिलो सर्त भएकोले बैदाम प्रहरीसँगको समन्वय र भूमिका राम्रो भएको बताए । उनले नागरिककाे सुविधाका लागि वाईयूके सुपर मार्केट नजिकै सुविधासम्पन्न गाडीको सरसफाई युनिट र इभी गाडीको चार्जिङ सेन्टर स्थापना गरिएको छ ।
वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी निरौलाले १२ वटा सीसी क्यामेरा जडान गरिएको प्रविधियुक्त प्रहरी बिटको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान रहने बताए ।
उनले दुईवटा क्यामेरा सडकमा गुड्ने सवारी साधनको नम्बरलाई कैद गर्ने क्षमताका भएको बताए ।
उनले आफ्नो जागिरे जीवनमा उपलव्धिको काम भएको भन्दै यो क्षेणलाई कहिल्यै भुल्न नसक्ने बताए । प्रहरी स्थानीयसँगै हातेमालो गरेर अघि बढ्ने उनले स्पष्ट पारे ।
कार्यक्रमका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, स्थानीय आमा समूह, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
पोखरा-१८ का कार्यबाहक वडाध्यक्ष रमेश थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बैदाम प्रहरीका प्रहरी निरीक्षक किरण थापा मगरले गरेका थिए ।






