पोखरा । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा हुने तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय भलिबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । यही फागुन १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको स्थानीय व्यवस्थापन माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुस र संयोजन माछापुच्छ्रे गाउँपालिका भलिबल संघ लाहाचोक कास्कीले गरेको छ ।
प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ पाँच टिमले सहभागि जनाउने माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा पालिकाबाट दुई जना राष्ट्रिय खेलाडिको समावेश गराउन पाउने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई दुई लाख, द्वितीयलाई एक लाख र सेमिफाइनल पुगेका दुई टिमलाई ५०/५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
यस्तै, महिलातर्फ प्रथम हुनेलाई एक लाख, द्वितीय हुनेलाई ५० हजार र सेमिफाइनल पुगेका दुई टिमलाई २५/२५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक पुरुस्कार प्रदान गरिने छ ।
यस वर्षदेखि महिला भलिबल प्रतियोगिता पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै वढि रौनकता थपिने माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले बताइन् ।
दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा बौदीकाली गाँउपालिका नवलपुर प्रथम र गल्कोट नगरपालिका बाग्लुङ दोस्रो भएका थिए ।






