पोखरा । पोखरामा वर्कसप तथा रिकण्डिसन व्यवसाय सञ्चालक र कर्मचारीसँग छलफल, अन्तरक्रिया एवं सचेतनामूलक स्टिकर टाँस कार्यक्रम सम्पन्न भएको छ ।
वडा प्रहरी कार्यालय बैदामको आयोजना तथा कास्की मोटरसाइकल वर्कसप एसोसिएसन पोखराको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा विना ईजाजत मोटरसाइकल मोडिफाइड गरी चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने कार्य नगर्ने, रिकण्डिसन मोटरसाइकल किनबेच गर्दा यातायात कार्यालयबाट नामसरी गरेरमात्र किनबेच गर्ने र कास्की जिल्लालाई ध्वनी प्रदुषणरहित बनाउन सबैको सहयोग हुनुपर्नेलगायतका बिषयमा छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले कानून विपरीत कार्य गर्ने कसैले पनि छुट नपाउने बताए ।
उनले राज्यको नीति नियमानुसार काम गर्ने जो कोहीलाई सघाउन प्रहरी हरपल तयार रहेको स्पष्ट पारे ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौलाले मोडिफाइ गरेर चलाउने मोटरसाइकल चालक, मोडिफाइ गरिदिने ग्यारेज सञ्चालकलाई कडाभन्दा कडा कर्वाही गरिने चेतावनी दिए ।
कास्की मोटरसाइकल वर्कसप एसोसिएसन पोखराका अध्यक्ष अर्जुन सुवेदीले केही व्यक्तिका कारण समग्र व्यवसाय नै बद्नाम हुने अवस्था सिर्जना भएको भन्दै यसबाट सबै सचेत हुन आवश्यक रहेको बताए ।
पोखरा महानगरपालिका वडा नं.८ का वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतमा भएको कार्यक्रममा वर्कसप तथा रिकन्डिसन हाउसमा चेतनामूलक स्टिकरसमेत टाँस शुरु गरिएको छ ।







