पोखरा । वडा प्रहरी कार्यालय बैदाममा कार्यरत ९० जना प्रहरी कर्मचारीको आँखा जाँच गरिएको छ । साथै उनीहरुलाई आवश्यक पर्ने औषधि, चश्मा र माश्कसमेत निःशुल्क प्रदान गरिएको छ ।
परीक्षणका क्रममा थप उपचार आवश्यक पर्ने चार जनालाई हिमालय आँखा अस्पताल पठाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष निरौलाले जानकारी दिए ।
हिमालयन आँखा अस्पताल पोखरा, लायन्स क्लब अफ पोखरा गार्डेन सिटीको सहकार्यमा आँखा शिविर आयोजना गरिएको डीएसपी निरौलाले जानकारी दिए ।

हिमालय आँखा अस्पताल पोखराका नेत्र प्राविधिक धर्मेन्द्र घोडासैनीको टोलीले प्रहरी कर्मचारीको आँखा परीक्षण गरेका हुन् ।
कार्यक्रममा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलिया प्रहरी कर्मचारीका लागि यस्ता खालाका शिविर निकै महत्वपूर्ण हुने बताए ।
वडा प्रहरी कार्यालय बैदाम प्रहरी प्रमुख डीएसपी निरौलाले शिविरमा सघाउने सबैप्रति आभार व्यक्त गरे । उनले प्रहरी कर्मचारीको स्वास्थ्यलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे ।
पोखरा महानगरपालिका वडा नं.६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ पोखराका अध्यक्ष सन्तोष पुरीलगायतले बोलेका थिए ।






