पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आज गोरखाको मनकामना मन्दिर दर्शनका लागि जाँदैछन् । तीन दिनदेखि गोरखामा रहेका शाह आज मनकामना मन्दिर जान लागेका हुन् । मनकामना मन्दिरमा पनि उनकाे भव्य स्वागत गर्ने तयारी छ ।
शाह शनिबार गोरखा दरबार पुगेर गोरखनाथ र गोरखकालीको पूजा गरेका थिए । शाह मन्दिर जानुपूर्व तनहुँको आँबुखैरेनीदेखि गोरखा दरबारसम्म राजसंस्था समर्थकले मोटरसाइकल र्याली गरेका थिए ।
करिब दुई घण्टा गोरखनाथ र कालिका भगवतीको पूजा गरेका शाहले वज्रभैरवमा पनि पूजा सामग्री पठाएका थिए । त्यहाँ फूल, प्रसाद र सगुन ग्रहण गरेर पूर्वराजा शाह कुरिनटार नै फर्किएका थिए ।
गोरखा दरबार शाहवंशका राजाहरूको आफ्नो घर भएको भन्दै त्यहाँ पूर्वराजपरिवारका नाममा नित्यपूजा भएको शाहको भ्रमणको संयोजन गरिरहेका संस्कृतिविद् जगमान गुरुङले बताए ।
गोरखनाथ मन्दिरमा दर्शन गर्दा पृथ्वीनारायण शाहलाई राज्य विस्तारको आशीर्वाद मिलेको जनविश्वास छ ।
राजसंस्था पुनःस्थापनाको माग उठिरहेको समयमा पूर्वराजा शाह गोरखा पुगेर गरेको पूजालाई विशेष महत्वका साथ हेरिएको छ ।
गोरखकालीमा पूजा गर्दा शाहले देशवासीको सुख र समृद्धिको कामना गरेको बताए । उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए ।
अहिले देशमा शान्ति चाहिएको र कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस्, केही खराब नचिताओस् भन्ने आफ्नो कामना रहेको बताए । उनले आफूलाई गोरखा आउन पाएर खुसी लागेको समते सुनाए ।
‘गोरखा आएर मलाई खुसी लाग्यो । आफ्नो जन्मथलो त होइन, तर पुर्खाको थलो हो,’ पूर्वराजा शाहले भने । उनले अहिले देशमा कोही पनि केही गर्नका लागि डराउनु नपर्ने पनि बताए ।
‘कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन, देशको शान्ति कायमै होस्, देशमा सुख होस्, सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,’ उनले भने ।
शाह दुई साता अघिमात्र पोखराबाट काठमाडौँ फर्किएका थिए । एक महिना पोखरा बसेका शाहले स्याङ्जा र बागलुङको भ्रमण गरेका थिए । सो क्रममा नागरिकले उनको भव्य स्वागत गरेका थिए ।
पोखरा बसाइका क्रममा उनले प्रजातन्त्र दिवसका दिन जारी गरेको भिडिओ सन्देशमा ‘देश जोगाउने हो भने आफूलाई साथ दिन’ आह्वान गरेका थिए । उनले देशमा व्यवस्था फेरिए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको भन्दै असन्तोष व्यक्त गरेका थिए ।
आफूले जनताको भलोका लागि पद र सुखसुविधा त्यागेको बताएका पूर्वराजा शाहले त्यसलाई कमजोरी नठान्न चेतावनी दिएका थिए । उनले भनेका थिए, “हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ, अब नेपालको उन्नतिका लागि हामीबाट अरू केके त्याग गर्नुपर्ने हो, हामी तयार छौँ ।’ शाहको यो सन्देशपछि राजावादी उत्साहित भएका छन् भने गणतन्त्रवादी रुष्ट बनेका छन् ।






