राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको पक्षमा बोल्नु लोकतन्त्रको विरोधी नभएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजसंस्था र प्रजातन्त्र एकआपसको विकल्प नभएको बताउनु भयो । उहाँले विश्वमा धेरै सम्पन्न देशहरुमा राजसंस्था र प्रजातन्त्र सँगसँगै अघि बढेको बताउनु भयो । उहाँले राजसंस्थाको पक्षमा बोल्दैमा प्रजातन्त्रको विरोधी भनेर गलत भाष्य निर्माण नगर्न आग्रह गर्नुभयो । उहाँले लोकतन्त्रको वकालत गर्दैमा कोही लोकतन्त्रवादी हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले राजसंस्थाको पक्षमा वकालत गर्ने राजनीतिक दलहरुलाई निरंकुश व्यवहार गर्ने ठूला राजनीतिक दलहरु कसरी लोकतन्त्रवादी भए भनेर प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राजासंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्ने गलत भाष्य निर्माण गरिएको छ यो गरिमामय संसदमा र जनताका प्रतिनिधिहरुले त्यो गलत परिभाषा लगाउनु हुँदैन भन्ने चाहन्छु । राजसंसथाको कुरा गर्नु प्रजातन्त्र र लोकतन्त्रको विरोध गर्नु होइन । र राजसंस्था र प्रजातन्त्र एकआपसका विकल्प होइनन् । दुनियाँका धेरै समृद्धि देशहरु छन् सुखी र सम्पन्न देशहरु छन् जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन् त्यसकारण कसैले यहाँ वा राप्रपाले यहाँ राजसंस्था वा राजाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन । यो गलत भाष्य गलत भाष्य निर्माण नगरियोस् भनेर सबै राजनीतिक दलहरु र माननीय सदस्यहरुलाई आग्रह गर्न चाहन्छु । लोकतन्त्रको विरोधी को छ र लोकतन्त्रको पक्षमा को छ भन्ने कुरा व्यवहारले देखाउने कुरा हो । लोकतन्त्रको डंका पिटेर त्यो लोकतन्त्रवादी हुँदैन । व्यावहारमा निरंकुश चरित्र गर्ने हिजो राजाले यस्तो गरेको थियो भनेर अरु दलहरुमाथि अरु विपक्षीहरुमाथि आफू निरंकुश व्यवहार गर्ने अनि आफू चाहीँ ठूलो लोकतन्त्रवादी हुने ।
अध्यक्ष लिङदेनले सरकारले ल्याउने बजेट वर्तमान अवस्थाको अर्थतन्त्रलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताउनु भयो ।






