पोखरा । इम्ब्रोइरी एण्ड गामेन्ट्स एशोसिएसन(एगा) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्डको सहयोगमा स्थलगत रुपमा कच्चा पदार्थसम्बन्धी जानकारी तथा सिप विकास तालिम सम्पन्न भएको छ ।
कार्यक्रमअन्तर्गत यही असार १ गतेदेखि बाग्लुङको ताराखोलामा अल्लो उद्योग जानकारी, रुकुमकोट छिपखोला खोला अल्लो उद्योगमा तालिम, प्युठानको हिमाल अल्लो कपडा उद्योगमा कच्चा पदार्थसम्बन्धी जानकारी लगायतका कार्यक्रम गरिएको थियो ।
रुकुमकोटको सिस्ने गाउँपालिका-२ स्थित छिपखोला अल्लो कपडा उद्योगमा आयोजित कच्चा पदार्थसम्बन्धी जानकारी तथा सिप विकास तालिममा सहभागीले कच्चा पदार्थको प्रशोधन प्रक्रिया लगायतमा जानकारी लिएका थिए ।
त्यस्तै छिपखोला अल्लो कपडा उद्योगमा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य तिर्था पुनले अल्लोको खेती, कटानी, प्रशोधन, कपास धागो बनाउनेदेखि डिजाइन तथा बुन्ने लगायतका विषयमा तालिम दिएका थिए । उक्त अवसरमा अल्लोको प्रयोगका फाइदा र उद्योग सञ्चालनका समस्यालगायतका बारेमा जानकारी गराए ।

बाग्लुुङको ताराखोला गाउँपालिका वडा नं ५ स्थिल अल्लो उद्योगमा भएको कार्यक्रममा अल्लो उद्योग र त्यसका समाग्री उत्पादन प्रक्रिया लगायतमा जानकारी गराइएको थियो । ११ जना दिदी बहिनी कार्यरत केन्द्रमा १२ वटा तानमा चाल्ने सिस्नोको पाटबाट प्रशोधनगरी कपडा उत्पादन भैरहेको लगायतमा जानकारी गराइयो ।
स्थलगत अवलोकन एवं तालिम पश्चात रुकुम पूर्वमा आयोजित समापन कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
सभामुख घर्तीले स्थानीय सिप र साधनले पर्यटकीय बजार विस्तार र पहुँच निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै तालिमको महत्वबारे प्रकाश पारे। वातावरणमैत्री उद्योगले रोजगारी सिर्जना गर्ने उनको भनाइ छ ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले कृषकको उत्पादन र बजारीकरणमा तीनवटै तहका सरकारको सहयोग आवश्यक हुनेमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले मध्यपहाडी लोकमार्गको पहुँच विस्तारले स्थानीय सिपयुक्त उत्पादन मुख्य बजारसम्म जोडिएकोले गुणस्तरीय समान उत्पादनमा ध्यान दिनुपर्ने बताए ।
एगाका पूर्व अध्यक्ष विश्वराज पोखरोलले तालिम निकै उपयोगी बनेको धारणा राखे ।
एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षता एवं सचिव माया सुवेदीले सञ्चालन गरेको कार्यक्रमको संयोजन उपाध्यक्ष एवं कार्यक्रम संयोजक गीता ढकाल(पौडेल)ले गरेका थिए ।
कार्यक्रमकै क्रममा प्युठानको गौमुखी गाउँपालिकाको हिमाल अल्लो उद्योगको पनि स्थलगत रुपमा अध्ययन, अवलोकन एवं जानकारी लिइएको थियो ।









