पाेखरा। मलेसियामा जारी एसीसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले नेपाललाई जितका लागि एक सय ३९ रनको लक्ष्य दिएको छ।
मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सिङ्गापुर ३६दशमलव१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३८ रनमा समेटियो।
सिङ्गापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए। ओपनर आहान भुधानभामले ३८ रन जोडे भने अर्का ओपनर रोशन अरुनले ११ रन बनाएर आउट भए।
सिङ्गापुरलाई एक सय ३८ रनमा रोक्न नेपालका कप्तान विपिन शर्माले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए। सचिन भट्टले तीन विकेट लिए भने शुभम खनाल र अभय यादवले समान एक-एक विकेट हात पारे।
जवाफमा नेपालले आक्रामक ब्याटिङ गरिरहेको छ । यो खेलमा नेपालले सहज जित हासिल गर्ने देखिएको छ ।
एसियाली क्रिकेट परिषद् (एसीसी) को वार्षिक कार्यतालिका अनुसार सञ्चालन भएको यस प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ।
नेपाल समूह ‘ए’ मा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापानसँगै रहेको छ। त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।






