पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीले आयोजना गरेको एसइई कप २०८२ अन्तर्गत छात्र भलिबलको उपाधि न्यू ग्यालेक्सी माविले जितेको छ ।
फाइनल खेलमा आयोजक पोखरा युनाइटेड एकेडेमीलाई पराजित गर्दै न्यू ग्यालेक्सीले उपाधि जितेको हो ।
विजेता न्यू ग्यालेक्सीले १२ हजार र उपविजेता पोखरा युनाइटेडले आठ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा ४० छात्र र १० छात्रा गरी ५० टिमको सहभागिता रहेको थियो ।
विजेता टिम तथा खेलाडीलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारी, प्राचार्य बयानबहादुर गोदार, सहायक प्राचार्यद्वय देवेन्द्र अधिकारी र गोविन्दप्रसाद चापागाईं, विद्यार्थी संयोजक फणीन्द्रराज पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।
विजेता टिमलाई न्यू ग्यालेक्सी स्कुलका प्राचार्य डा. रामजी शर्मा, सहायक प्राचार्य राजेश भण्डारी तथा निर्देशक राजु कायस्थलगायतले बधाई ज्ञापन गरेका छन् ।
यो जितले विद्यालयको गरिमा थप उचाईमा पुगेको प्राचार्य शर्माको विश्वास छ ।






