जानकी माध्यमिक विद्यालय पोखरा–१७, महतगौडाको परिसरमा उत्सवको चहलपहल थियो । साना नानीबाबुदेखि सेतो कपाल फुलेका अभिभावकसम्म एउटै आँगनमा जम्मा भएका थिए ।
उनीहरू सबैका आँखामा एउटा साझा भाव देखिन्थ्यो—विद्यालयप्रतिको गर्व र मायासँगै गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक प्रयासको खाँचो छ भन्ने अनुभूति ।
विद्यालयको ४८ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयको आँगन ध्वजापताकाले रंगीन बनेको थियो । शिक्षकले हात समातेर अक्षर चिनाएका विद्यार्थी आज मञ्चमा गीत, नृत्य र मन्तव्य प्रस्तुत गर्दै थिए । उनीहरूको हाँसो र तालीको गुञ्जनले विद्यालयका संस्थापकदेखि आमन्त्रित अतिथिसम्मलाई नयाँ जीवन दिएको अनुभूति भएको जस्तो महसुस गरिएको थियो ।
विद्यालयका प्रमुख अक्षयकोषदाता एवं पोखरा महानगरपालिका वडा नं. १७ का जनप्रतिनिधि शिवराम भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै शिक्षा केवल पाठ्यपुस्तकमा मात्र सीमित नभई जीवन बदल्ने शक्ति भएको उल्लेख गर्नुभयो । उहाँले सामुदायिक विद्यालयसँग चौतर्फी विकासमा वडास्तरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयको विकासमा सहयोग गर्ने पोखरा–१७ निवासी लिलकाजी गुरुङ, व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नगेन्द्र गुरुङ, विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेल, लेखापाल अमित वानिया, ढुङ्गेसाँघ सितापाइला आमा समूह, इक्रा फाउन्डेसन लगायतका विभिन्न संघसंस्था तथा व्यक्तित्वहरूलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
सो अवसरमा स्थानीय जागरण आमा समूहले गत तिहारमा भैलो खेलेर संकलन गरेको ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको थियो । समूहले उक्त रकम बराबरको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलालाई हस्तान्तरण गरेको थियो ।
सो अवसरमा पार्दी मावि व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण श्रेष्ठले सामुदायिक विद्यालय सञ्चालनमा आर्थिक अभाव महत्वपूर्ण चुनौतीका रूपमा रहेको बताउँदै गुणस्तरीय शिक्षाका लागि सम्बन्धित निकायले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
अक्षयकोषदाता एवं सामाजिक व्यक्तित्व वीरेन्द्रनारायण विजुक्छेले समाजका विपन्न र असहाय परिवारका विद्यार्थीको अध्ययनको थलो बनेको सामुदायिक विद्यालयले भौतिक संरचनाभन्दा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले सामुदायिक विद्यालय केवल पठनपाठन गर्ने संस्था मात्र नभई समाजको भविष्य निर्माण गर्ने आधारशिला भएको बताउँदै शिक्षा सचेत, सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्ने आधार भएको उल्लेख गर्नुभयो ।
विद्यालयको सुदृढ व्यवस्थापन समिति केवल औपचारिक संरचना मात्र होइन, यो शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास, शिक्षक वर्गको मनोबल अभिवृद्धि तथा विद्यार्थीको सर्वाङ्गीण विकासको मार्गदर्शक निकाय भएको स्पष्ट पार्नुभयो ।
पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा जानकी माध्यमिक विद्यालयको खेलमैदानमा रहेको पक्की भवनमा यसै आर्थिक वर्षदेखि अटिजम कक्षा सञ्चालन गरिएको जानकारी दिँदै उहाँले सम्भवतः गण्डकी प्रदेशको सरकारी स्तरबाट खोलिएको यो पहिलो कक्षा भएको उल्लेख गर्नुभयो । अटिजम कक्षामा हाल ४० जना विद्यार्थी भर्ना भएका छन् ।
कार्यक्रममा कक्षागत र अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई पुरस्कार तथा मेडल वितरण गरिएको थियो । सो अवसरमा अटिजमका विद्यार्थी तथा अभिभावकलाई समेत पुरस्कृत गरियो ।
विद्यार्थीद्वारा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुका साथै सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको सो कार्यक्रममा शिक्षक–अभिभावक संघका अध्यक्ष विक्रमबहादुर भण्डारीले स्वागत मन्तव्य र शिक्षक तुलसी गिरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।






