काठमाडौंमा सम्पन्न १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत छात्र भलिबलतर्फ गण्डकी प्रदेशले लगातार दोस्रो पटक स्वर्ण पदक जित्दै उपाधि रक्षा गरेको छ। पोखरा युनाइटेड एकेडेमीका पाँच खेलाडी सम्मिलित गण्डकी टोलीले रोमाञ्चक पुनरागमन गर्दै च्याम्पियन बन्न सफल भएको हो।शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न फाइनल खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ३–२ सेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो। यससँगै गण्डकीले अघिल्लो संस्करणको उपाधिसमेत जोगाउन सफल भएको टोलीका व्यवस्थापक लेखनाथ लम्सालले जानकारी दिए।
प्रतिस्पर्धात्मक खेलमा गण्डकीले सुरुआती दुई सेट २०–२५ र २४–२६ ले गुमाएको थियो। तर त्यसपछि टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै तेस्रो सेट २५–२३ र चौथो सेट २५–१७ ले जित्दै खेललाई २–२ को बराबरीमा ल्यायो।निर्णायक पाँचौँ सेटमा गण्डकीले आत्मविश्वासपूर्ण प्रदर्शन गर्दै १५–११ को जित निकाल्यो र स्वर्ण पदक सुनिश्चित गर्यो।उक्त विजेता टोलीमा पोखरा युनाइटेड एकेडेमीका विद्यार्थी सुप्रिम भुजेल, अजय सुनार, अनमोल नेपाली, निशान नेपाली र भिजन नेपालीको महत्वपूर्ण योगदान रहेको थियो।





