सरोकारवालाहरूका अनुसार तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाछासम्म फैलिएको मिलेनियम ट्रेक नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण आकर्षणका रूपमा विकास हुन सक्ने सम्भावना रहेको छ।प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले समृद्ध यस पदमार्गलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रभावकारी रूपमा स्थापित गर्न पूर्वाधार विकास, डिजिटल प्रचार प्रसार तथा सरोकारवाला निकायबीचको समन्वित पहल आवश्यक रहेको उनीहरूको भनाइ छ।
शनिबार राजधानीमा मिलेनियम ट्रेक व्यवस्थापन समितिद्वारा आयोजित मिलेनियम ट्रेक प्रवर्द्धन कार्यक्रम–२०८३ मा सहभागी पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी तथा जनप्रतिनिधिहरूले मिलेनियम ट्रेकलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।कार्यक्रमका प्रमुख अतिथि तथा तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य इञ्जिनियर श्रीराम न्यौपानेले मिलेनियम ट्रेकलाई नेपालको मात्र नभई विश्व पर्यटन बजारको प्रमुख आकर्षण केन्द्रका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरे। उनले तनहुँको छाब्दीदेखि बन्दीपुर हुँदै देवघाटसम्मको पदमार्गलाई आगामी आर्थिक वर्षको बजेटमार्फत साइकलिङ ट्र्याकका रूपमा विस्तार गर्ने योजना रहेको जानकारी दिँदै त्यसलाई मिलेनियम ट्रेकसँग समेत जोड्न सकिने उल्लेख गरे। साथै, पर्यटन प्रवर्द्धनका लागि डिजिटल साक्षरता र गुणस्तरीय इन्टरनेट पहुँचलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
त्यस्तै, कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले गण्डकी प्रदेशका ११ वटै जिल्लामा पर्यटन प्रवर्द्धनका गतिविधि अघि बढाइरहेको जानकारी गराउँदै अन्य ट्रेकिङ गन्तव्यमा जाने पर्यटकलाई मिलेनियम ट्रेकतर्फ आकर्षित गर्न विशेष रणनीति आवश्यक रहेको बताए।
कार्यक्रमअन्तर्गत आयोजित प्यानल छलफलमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले पूर्वाधार विकास, डिजिटल प्रचारप्रसार तथा आन्तरिक पर्यटन विस्तारलाई प्रभावकारी रूपमा अघि बढाउन सकिए मिलेनियम ट्रेकको भविष्य अत्यन्त उज्ज्वल रहने बताएका छन्। उनले पदमार्गका केही क्षेत्रमा पर्याप्त आवास सुविधा अभाव रहेको उल्लेख गर्दै आवश्यकताअनुसार टेन्टमार्फत समेत पर्यटकलाई सेवा दिन सकिने सुझाव दिएका थिए।
त्यसैगरी पर्यटन व्यवसायी चन्द्र धर्ती र पोखरा बर्ड सोसाइटीका सचिव हेमन्त ढकालले पदमार्गमा विद्यमान चुनौती तथा सम्भावनाबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए। छलफल कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार अनिता बिन्दुले गरेकी थिइन्। कार्यक्रममा गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले मिलेनियम ट्रेकको सम्भावना र विकासका विभिन्न आयाम समेटिएको कार्यपत्र प्रस्तुत गर्दै अक्टोबरदेखि अप्रिलसम्मको समय यो ट्रेक भ्रमणका लागि उपयुक्त हुने बताएका थिए।
तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाछासम्म फैलिएको मिलेनियम ट्रेक सन् २००० देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। प्रारम्भिक ७२ किलोमिटर दूरी रहेको यो पदमार्ग विस्तार गरी हाल ९२ किलोमिटर पुर्याइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए।
दुलेगौंडाको गाछेपानीस्थित रक गार्डेन, च्यवनधाम, ढोरबाराही मन्दिर, ऐतिहासिक ढोर मूलकोट दरबार, रजस्थल, घरेडी, मिलेनियम गुफा, काल्खु, राइपुर, कोल्मा, भैसेगौडा, चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट, बुढाकोट, राम्चे, गहते मनकामना र सुन्तलाबारी हुँदै रामबाछासम्म पुग्ने यो मार्ग प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको छ।
छ रात सात दिनमा पूरा गर्न सकिने यो पदमार्ग चरा पर्यटनका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यहाँ करिब ३०० प्रजातिका चराहरू पाइन्छन्। नेपालमा मात्रै पाइने दुर्लभ काँडे भ्याकुरलगायतका चरा विभिन्न स्थानमा सहजै अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र पक्षीप्रेमी तथा अनुसन्धानकर्ताका लागि आकर्षक गन्तव्य बनेको छ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई मिलेनियम ट्रेकको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। मिलेनियम ट्रेक व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष नेत्रप्रसाद गुरुङसहित पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवर्द्धन गरेको थियो भने पदमार्ग क्षेत्रभित्र पर्ने विभिन्न स्थानीय तहहरूले सहयोग गरेका थिए। कार्यक्रममा पदमार्ग क्षेत्रका मौलिक सांस्कृतिक पहिचान झल्काउने घाँटु र कौरा नृत्यसमेत प्रस्तुत गरिएको थियो।
कार्यक्रम नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा सम्पन्न भएको हो भने स्थानीय तहहरूको सहयोग रहेको थियो। साथै, कार्यक्रमको डिजिटल पार्टनरका रूपमा निती एकेडेमी रहेको थियो।






