पोखरा
फेवा डुङ्गा व्यवसायी संघले फेवातालमा डुङ्गा चलाउने चालक तथा डुङ्गामा सयर गर्ने यात्रुहरूको लागि बीमा गरेको छ। संघले शिखर इन्स्योरेन्स कम्पनीसँग आगामी १ वर्षका लागि बीमा गरेको हो। अब फेवातालमा कुनै दुर्घटना भई घाइते भएमा डुङ्गा चालक तथा यात्रुले उपचार खर्चबापत १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। साथै मानवीय क्षति भएमा परिवारले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
संस्थामा बेतलबी (अवैतनिक) रूपमा सञ्चालनमा रहेका डुङ्गामा यो नियम लागू हुने जानकारी संघका अध्यक्ष बलराम गिरीले दिनुभएको छ। फेवातालमा वर्षेनि विभिन्न किसिमका दुर्घटनाहरू हुँदै आएका छन्। बीमा गरिएका डुङ्गा चालकहरूले पनि सुरक्षा सम्बन्धी उच्च सचेतना अपनाएका छन्। फेवातालका विभिन्न ८ वटा डुङ्गा स्टेशनबाट ८ सय ४७ डुङ्गा सञ्चालन भइरहेको छ। यहाँ झण्डै ३ सय ५० जना डुङ्गा चालक रहेका छन्।





