गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा आत्मसात् गर्नु नै गुरूप्रतिको सच्चा सम्मान हुने बताउनुभएको छ।
गुरुपूर्णिमाको अवसरमा भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, पोखराले आयोजना गरेको गुरु सम्मान कार्यक्रममा बोल्दै उहाँले गुरु–शिष्य सम्बन्ध विश्वास, अनुशासन, सम्मान, समर्पण र चरित्र निर्माणमा आधारित हुने उल्लेख गर्नुभयो।
प्रदेश प्रमुख भट्टले महान् व्यक्तित्वहरूको सफलतापछि प्रेरणादायी गुरुको मार्गदर्शन रहने भन्दै गुरुको सम्मान कुनै एक दिवस वा औपचारिक कार्यक्रममा मात्र सीमित हुन नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले गुरुबाट प्राप्त ज्ञान, संस्कार र आदर्शलाई व्यवहारमा उतार्दै शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा ग्रहण गर्नु नै गुरूप्रतिको वास्तविक सम्मान हुने बताउनुभयो।
उहाँले शिक्षक र विद्यार्थीबीचको आत्मीय सम्बन्ध, पारस्परिक सम्मान र श्रद्धाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो। विद्यालयमा सञ्चालन हुने रचनात्मक तथा सिर्जनात्मक गतिविधिले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै समग्र शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो।
प्रदेश प्रमुख भट्टले आफ्ना बाल्यकालका स्मृतिसँग जोडिएको मातृविद्यालयको उन्नतिका लागि योगदान दिनु समाजसेवाको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्नुभयो। उहाँले पूर्वविद्यार्थीहरूले आफ्ना ज्ञान, सीप र अनुभव विद्यालयको भौतिक तथा शैक्षिक विकासमा उपयोग गर्दै नयाँ पुस्तालाई प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। आफूले हासिल गरेको शिक्षा र क्षमतालाई आफ्नै विद्यालय तथा समाजको हितमा प्रयोग गर्नु असल नागरिकको परिचय भएको उहाँले बताउनुभयो।
कार्यक्रममा भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले विद्यालय स्थापनाकालदेखि २०४० सालसम्म अध्यापन गराउनुभएका शिक्षकहरूलाई सम्मान गरेको थियो।






