पोखरा । नेपाली कांग्रेस बागलुङका जिल्ला सभापति जित शेरचनको जिम्मेवारी तारानाथ पौडेललाई दिइएको छ। शेरचन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रीसमेत हुन्। उनी कृष्ण सिटौला समर्थक मानिन्छन्।
१५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन अघि बढाउन असहमत इतर समूहका चार जिल्लाका सभापतिको जिम्मेवारी खोस्दै नेपाली कांग्रेसको संस्थापन पक्षले नयाँ कार्यवाहक सभापति तोकेको हो।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिहरूको जिम्मेवारी परिवर्तन गरिएको छ। यद्यपि, जिम्मेवारी खोसिए पनि उनीहरूको जिल्ला सभापतिको पद भने कायमै रहने दुलालले स्पष्ट पारेका छन्।
उहाँहरू सभापति नै रहनुहुन्छ, काम गर्न नसकेकाले बाटो फुकाएका हौँ, दुलालले भने।
निर्णयअनुसार बागलुङका सभापति जित शेरचनको जिम्मेवारी तारानाथ पौडेललाई दिइएको छ। त्यस्तै, कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी हरिचन्द्र राना, मुगुका सभापति ऐनबहादुर शाहीको जिम्मेवारी हरिजङ्ग शाही र डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई दिइएको छ।





