पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले ३२ वर्ष १ महिना ४ दिन लामो सेवायात्रा पूरा गरी निजामती सेवाबाट औपचारिक रूपमा अवकाश लिनुभएको छ। उहाँको सम्मानमा प्याब्सन, एन–प्याब्सन, हिसान, युनिप्स तथा मन्टेश्वरी एसोसिएसन, कास्कीले मंगलबार संयुक्त रूपमा बिदाइ कार्यक्रम आयोजना गरेको हो।
प्याब्सन कास्कीको सभाहलमा आयोजित कार्यक्रममा वक्ताहरूले पोखरा महानगरपालिकाको शैक्षिक विकास, संस्थागत सुधार तथा सेवा प्रवाहमा आचार्यले पुर्याउनुभएको योगदान स्मरणीय रहेको बताए। सक्रिय सेवाबाट विश्राम लिए पनि उहाँको लामो अनुभव, मार्गदर्शन र आत्मीय व्यवहार आगामी दिनमा पनि शैक्षिक क्षेत्रका लागि प्रेरणाको स्रोत बन्ने विश्वास वक्ताहरूले व्यक्त गरे।
वक्ताहरूले आचार्यको सेवानिवृत्त जीवन सिर्जनात्मक, सक्रिय र सुखद रहोस् भन्दै उहाँले आगामी दिनमा आफूलाई रुचि भएका विभिन्न क्षेत्रमा थप योगदान पुर्याउन सकून् भन्ने शुभकामना व्यक्त गरे।
सोही कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई स्वागतसमेत गरिएको थियो। कार्यक्रममा बोल्दै प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले पोखराको निजी शैक्षिक क्षेत्रमा महानगरपालिकाबाट निरन्तर सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनुभयो।

बिदाइ कार्यक्रममा निवर्तमान शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले पोखराको शैक्षिक विकासमा निजी क्षेत्रले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै निजी शिक्षण संस्थाहरूले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको स्मरण गर्नुभयो।
त्यसैगरी, स्वागत गरिएका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले शिक्षामा गरिएको लगानी दीर्घकालीन र राज्यका लागि रणनीतिक महत्वको हुने बताउँदै शैक्षिक विकासका लागि सबै पक्षले रचनात्मक भूमिका निर्वाह गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले स्वागत मन्तव्य राख्नुभएको थियो। एन–प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङ, मन्टेश्वरी एसोसिएसनकी अध्यक्ष रितु पौडेललगायतले धन्यवाद तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले गर्नुभएको थियो भने सञ्चालन प्याब्सन कास्कीका सचिव सुरेन्द्रमानसिंह भण्डारीले गर्नुभएको थियो।





