पोखरा । पोखरा महानगरपालिका-१०, बुद्धचोकस्थित सोसल पब्लिक स्कुलले विजयादशमी, दीपावली, छठ र ईदलगायत पर्वको अवसरमा विद्यार्थीलाई टीका र जमरा लगाएर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयले गत शुक्रबार कक्षा १ र २ तथा सोमबार कक्षा ३ का विद्यार्थीलाई टीका र जमरा लगाइदिएर पर्वको शुभकामना दिएको हो।
कार्यक्रममा विद्यालयका प्राचार्य सिद्धार्थ शर्मा, प्रबन्ध निर्देशक खिम गुरुङ र प्रिप्राइमरी इन्चार्ज प्रतीक्षा गुरुङले विद्यार्थीलाई टीका र जमरा लगाइदिएका थिए।
विद्यालयका प्राचार्य शर्माले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक सीप, सिर्जनशीलता र प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्न विद्यालयले प्राथमिकता दिँदै आएको बताए।
शिक्षालाई जीवन र व्यवहारसँग जोड्न सके विद्यार्थीको क्षमता विकासमा सहयोग पुग्ने उनको भनाइ थियो।
शर्माका अनुसार विद्यालयले नियमित पठनपाठनसँगै सूचना प्रविधि, कला तथा सिर्जनात्मक गतिविधिलाई पनि शिक्षण सिकाइको अभिन्न अङ्गका रूपमा अघि बढाउँदै आएको छ।
विद्यार्थीलाई सिकेको ज्ञान व्यवहारमा उतार्न सक्ने बनाउनु विद्यालयको उद्देश्य रहेको उनले बताए।
विद्यालयका प्रबन्ध निर्देशक खिम गुरुङले ‘बढ्दै, पढाउँदै’ भन्ने नारालाई सार्थक बनाउने लक्ष्यसहित विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिइएको बताए।
शैक्षिक उपलब्धिसँगै विद्यार्थीको व्यावहारिक क्षमता, आत्मविश्वास र सिर्जनशीलता विकास गर्न अतिरिक्त क्रियाकलापलाई पनि महत्त्व दिइएको उनको भनाइ थियो।
गुरुङका अनुसार विद्यालयमा आर्ट एन्ड डुइङ तथा विद्यालय नाटकजस्ता गतिविधिमार्फत विद्यार्थीको सिर्जनात्मक प्रतिभा प्रस्फुटन गराउने प्रयास हुँदै आएको छ।
यस्ता गतिविधिले विद्यार्थीलाई आफ्ना विचार अभिव्यक्त गर्न, समूहमा काम गर्न र सिकाइलाई व्यवहारमा उतार्न सहयोग पुग्ने विद्यालयको विश्वास छ।
२०५३ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुँदै आएको छ। विद्यालयमा करिब आठ सय विद्यार्थी अध्ययनरत छन्। कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन र कम्प्युटर विज्ञान विषयको पढाइ सञ्चालन भइरहेको छ।
विद्यालयले नियमित शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलाप, व्यवहारिक सिकाइ र सूचना प्रविधिको प्रयोगलाई अघि बढाउँदै विद्यार्थीलाई बदलिँदो समयअनुसार सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ।






