पोखरा। त्रिशूली नदीको कटानका कारण धादिङको गलौँदीमा भासिएको पृथ्वी राजमार्गको सडक मर्मत गर्न आज (सोमबार) राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्ग पूर्ण रूपमा बन्द गरिने भएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सूचना जारी गर्दै गजुरी गाउँपालिका-५ स्थित गलौँदी क्षेत्रमा सडक मर्मतसम्भार गर्न रातिको समयमा सवारी आवागमन बन्द गरिने जानकारी दिएकी हुन्। सडकलाई थप सुरक्षित र सुदृढ बनाउन मर्मत कार्य गर्न लागिएको प्रशासनले जनाएको छ।
गत असोज २३ गते त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि उक्त खण्डमा यातायात अवरुद्ध भएको थियो। असोज २४ गते दिनभरको प्रयासपछि एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको थियो। तर सडकको क्षतिग्रस्त भागलाई सुरक्षित बनाउन थप मर्मत आवश्यक भएपछि रातिको समयमा काम गर्न लागिएको हो।
सडक मर्मत तथा पुनर्निर्माणका लागि १० भन्दा बढी मेसिन तथा उपकरण परिचालन गरिएको छ। नागढुङ्गा-नौबिसे-मुग्लिङ सडक आयोजना, पूर्वी खण्डका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडकको सतह दबिएको प्रारम्भिक अनुमान छ।
करिब ८० मिटर सडक चर्किएकाले क्षतिग्रस्त भागको दुवैतर्फ थप ४०–४० मिटर विस्तार गरी सडकको ग्रेड र मोड मिलाउने काम भइरहेको अधिकारीले बताए। उनका अनुसार करिब १६० मिटर लम्बाइमा ब्याक कटिङ, ग्रेड कटिङ र माटो हटाउने काम भइरहेको छ।
सडक मर्मतका लागि छवटा एक्स्काभेटरसहित लोडर र टिप्पर परिचालन गरिएको आयोजनाले जनाएको छ। निर्माण व्यवसायी, परामर्शदाता, प्राविधिक र अन्य कर्मचारी कार्यस्थलमा खटिएका छन्। स्थानीय तह, वडा कार्यालय, इलाका वन कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी काम अघि बढाइएको अधिकारीले बताए।
निर्माण व्यवसायी शहदेव खड्काका अनुसार सडक खुलाउन नौवटा हेभी इक्विपमेन्ट र करिब १० वटा टिप्पर परिचालन गरिएका छन्। इन्जिनियरसहित ७० देखि ८० जना जनशक्ति बिहानैदेखि काममा खटिएको उनले जानकारी दिए।
अघिल्लो दिनदेखि नै काम गर्ने तयारी भए पनि ग्यास बुलेटमा चुहावट भएको घटना र राति परेको पानीका कारण कटिङ गर्दा जोखिम हुने अवस्था आएको खड्काले बताए। त्यसपछि शाखा सडकको मर्मतसँगै ब्याक कटिङ, ग्रेड कटिङ र माटो हटाउने कामलाई तीव्रता दिइएको उनको भनाइ छ।
ब्याक कटिङ र माटो हटाउने काम पूरा भएपछि सबग्रेड तथा सबबेस निर्माण गरेर सडकलाई यातायात सञ्चालनयोग्य बनाउने योजना छ। आवश्यक परे जेनेरेटर र फ्लडलाइटको व्यवस्था गरी रातिसमेत काम जारी राख्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।
दसैँको समयमा मुख्य राजमार्ग बन्द हुँदा यात्रु तथा यातायात व्यवसायी थप समस्यामा पर्ने चिन्ता व्यक्त गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेको अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवस्थापनमा चुनौती थपिने बताएका छन्।
पृथ्वी राजमार्गको उक्त खण्ड राजधानी काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख मार्ग भएकाले अवरोधले यात्रु तथा सवारीसाधनको आवागमन प्रभावित भएको छ। चाडपर्वका बेला यात्रुले थप सास्ती भोग्न नपरोस् भन्ने उद्देश्यले सडक मर्मतलाई तीव्रता दिइएको निर्माण पक्षले जनाएको छ।






