पोखरा। पोखरा महानगरपालिका वडा नं १३ कुँडहरस्थित बालकल्याण बोर्डिङ स्कूलले विजयादशमी, दीपावली, छठ र ईदलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयले प्रिप्राइमरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा प्राचार्य षडानन्द गौतम, शिक्षक-शिक्षिका राधा गुरुङ, सीमा गुरुङ र जुम गुरुङले विद्यार्थीलाई टिका र जमरा लगाइदिएर शुभकामना व्यक्त गरेका थिए ।
विद्यालयका प्राचार्य गौतमले दशैँ नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायबीच आपसी सद्भाव, प्रेम र एकताको भावना बलियो बनाउने बताए।
बालबालिकालाई सानैदेखि चाडपर्वको सांस्कृतिक महत्व, पारिवारिक आत्मीयता र सामाजिक सद्भावबारे बुझाउन यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो।
चाडपर्वले बालबालिकामा खुसी बाँड्ने, आपसी सम्मान गर्ने र आफ्नो संस्कृतिप्रति परिचित हुने अवसर प्रदान गर्ने उनले बताए । विभिन्न धर्म र समुदायका पर्वलाई सम्मान गर्दै सबै मिलेर खुसी साटासाट गर्ने संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए।
विद्यालयले हरेक वर्ष विभिन्न पर्वका अवसरमा विद्यार्थीमाझ यस्ता कार्यक्रम गर्दै आएको छ। यस्ता गतिविधिले विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै नेपाली संस्कृति, परम्परा र सामाजिक सद्भावको महत्व बुझ्न सहयोग पुग्ने विद्यालयको विश्वास छ।
२०४३ सालमा स्थापित विद्यालयमा हाल करिब एक हजार छ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन र होटल व्यवस्थापन संकायको पढाई हुँदै आएको छ । विद्यालयले व्यवहारिक ज्ञानका लागि शिक्षा भन्ने मूल नाराका साथ अध्ययन अध्यापन गराउँदै आएको छ।







