पोखरा। पोखरा महानगरपालिका वडा नं १३ स्थित बेसलाइन एकेडेमीले विजयादशमी, दीपावली, छठ र ईदलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयले प्रिप्राइमरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा विद्यालयका निर्देशक शोभालक्ष्मी पौडेल, विभिन्न तहका इञ्चार्जहरू देविका गुरुङ, मेनुका भट्टराई, मञ्जु थापा, अनिशा गुरुङ, गोपाल रिजाललगायतले टिका र जमरा लगाइदिएर विद्यार्थीलाई शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका निर्देशक पौडेलले दशैँ नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायबीच आपसी सद्भाव, प्रेम र एकताको भावना बलियो बनाउने बताइन्।
बालबालिकालाई सानैदेखि चाडपर्वको सांस्कृतिक महत्व, पारिवारिक आत्मीयता र सामाजिक सद्भावबारे बुझाउन यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो।
चाडपर्वले बालबालिकामा खुसी बाँड्ने, आपसी सम्मान गर्ने र आफ्नो संस्कृतिप्रति परिचित हुने अवसर प्रदान गर्ने उनले बताइन् । विभिन्न धर्म र समुदायका पर्वलाई सम्मान गर्दै सबै मिलेर खुसी साटासाट गर्ने संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिइन् ।
विद्यालयले हरेक वर्ष विभिन्न पर्वका अवसरमा विद्यार्थीमाझ यस्ता कार्यक्रम गर्दै आएको छ। यस्ता गतिविधिले विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै नेपाली संस्कृति, परम्परा र सामाजिक सद्भावको महत्व बुझ्न सहयोग पुग्ने विद्यालयको विश्वास छ।






