पोखरा। पोखरा महानगरपालिका वडा नं १५ कोलपाटनस्थित रेन्बो एकेडेमिक होम्स आवासीय माध्यमिक विद्यालयले विजयादशमी, दीपावली, छठ र ईदलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयले प्रिप्राइमरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा सहप्राचार्य टेकबहादुर गुरुङ, कक्षा १२ संयोजक खेमनारायण ढकाल तथा प्रिप्राइमरी इञ्चार्ज कामना थापागायतले विद्यार्थीलाई टिका र जमरा लगाइदिएर शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका सहप्राचार्य टेकबहादुर गुरुङले दशैँ नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायबीच आपसी सद्भाव, प्रेम र एकताको भावना बलियो बनाउने बताए।
बालबालिकालाई सानैदेखि चाडपर्वको सांस्कृतिक महत्व, पारिवारिक आत्मीयता र सामाजिक सद्भावबारे बुझाउन यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो।
कक्षा १२ संयोजक खेमनारायण ढकालले चाडपर्वले बालबालिकामा खुसी बाँड्ने, आपसी सम्मान गर्ने र आफ्नो संस्कृतिप्रति परिचित हुने अवसर प्रदान गर्ने बताए्। विभिन्न धर्म र समुदायका पर्वलाई सम्मान गर्दै सबै मिलेर खुसी साटासाट गर्ने संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए ।
विद्यालयले हरेक वर्ष विभिन्न पर्वका अवसरमा विद्यार्थीमाझ यस्ता कार्यक्रम गर्दै आएको जनाएको छ। यस्ता गतिविधिले विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै नेपाली संस्कृति, परम्परा र सामाजिक सद्भावको महत्व बुझ्न सहयोग पुग्ने विद्यालयको विश्वास छ।
२०५२ सालमा स्थापित विद्यालयमा हाल करिब एक हजार छ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन संकायको पढाई हुँदै आएको छ ।






