गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूर्य देवता र छठी माताको पूजाआराधना गरी मनाइने पर्व छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्व रहेको बताएका छन् । छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको छठ पर्वले प्रकृतिप्रतिको सम्मान पनि दर्शाउने उल्लेख गरेका छन् । प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक छठ पर्व रहेको उनको भनाइ छ ।
खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं, पोखरालगायत पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ । यसबाट धर्म संस्कृति, रीतिरिवाज तथा चाडपर्वले बीच आपसी सद्भाव र एकतालाई अभिवृद्धि गर्दै लगेको प्रष्ट हुने उनले बताएका छन् ।
शुभकामना सन्देशमा उनले ‘शुद्धाशुद्धिमा विशेष ध्यान यो पर्वको अर्को विशेषता हो, जसले स्वास्थ्यलाई फाइदा पुर्याउन सघा-इरहेको हुन्छ,’ भनेका छन् । धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा मनाइने यस्ता चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान पुर्याएका छन् ।
प्रकृतिको पूजा गरिने छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै देशमा शान्ति र अमनचयन कायम गर्ने दिशामा प्रेरणा मिलोस् भन्ने शुभकामना उनले व्यक्त गरेका छन् ।





