पोखरा । काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए नेपाल) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले पाएका छन्। संस्थाका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता सीताराम केसीले २०८३ कात्तिक ३० गते एक पत्रमार्फत ढकाललाई यो जिम्मेवारी सुम्पिएका हुन्।
केसी हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भई पार्टीको जिम्मेवारीसमेत निर्वाह गरिरहेका छन्। दुवैतिरको जिम्मेवारीलाई प्रभावकारी, सन्तुलित र संस्थागत रूपमा अघि बढाउन पर्याप्त समय दिन नसक्ने भएपछि उनले नेतृत्व हस्तान्तरण गरेका हुन्। संस्थाको संस्थागत निरन्तरता, गरिमा, एकता र कार्यसम्पादनमा कुनै अवरोध नआओस् भनेर केसीले पत्र लेखेकै मितिबाट अध्यक्षको जिम्मेवारी ढकाललाई दिएका हुन्।
यसअघि डिएलए नेपालको एघारौँ महाधिवेशन २०८० जेठमा सम्पन्न भएको थियो। संस्थाको विधानबमोजिम निर्धारित तीनवर्षे कार्यकाल पूरा भइसकेकाले आगामी बाह्रौँ महाधिवेशन २०८३ भदौ १९ गतेका लागि तय गरिएको थियो। तर २०८३ भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण तोकिएको मितिमा महाधिवेशन हुन नसकी स्थगित भएको थियो।
संस्थाको जीवन्तता, वैधानिकता, संस्थागत निरन्तरता र लोकतान्त्रिक मूल्यमान्यतालाई अक्षुण्ण राख्न विधानबमोजिम निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्था छ। सोही कारण कार्यवाहक अध्यक्ष ढकालले यथाशीघ्र बाह्रौँ महाधिवेशन सम्पन्न गराउने मुख्य जिम्मेवारी पाएका छन्। उनले संस्थाभित्र एकता र सहकार्य कायम गर्दै महाधिवेशनलाई निष्पक्ष, पारदर्शी तथा लोकतान्त्रिक विधि र प्रक्रियाबाट सम्पन्न गरी नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेछ।
अध्यक्ष केसीले पत्रमार्फत आफ्नो कार्यकालमा संस्थाको हित, एकता, सुदृढीकरण तथा कानुन व्यवसायीहरूको पेसागत हकहित र अधिकार संरक्षणलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरेका छन्। उनले संस्थाको उद्देश्य र मूल्यमान्यतालाई आत्मसात् गर्दै क्षमताले भ्याएसम्म योगदान दिएको स्मरण गरेका छन्। साथै संस्थाप्रतिको आफ्नो साथ, सहयोग र प्रतिबद्धता निरन्तर रहने विश्वाससमेत उनले दिलाएका छन्।





