पोखरा ।
कुनै बिरामी अस्पतालबाट निको भएर घर फर्किनु एउटा उपलब्धि हो । तर हिँड्न नसक्ने व्यक्ति फेरि आफ्नै खुट्टामा उभिनु, बोल्न नसक्ने बालबालिकाले संवाद गर्न सिक्नु वा दीर्घरोगले थलिएको व्यक्तिले बाँकी जीवन सहज रूपमा बिताउन सक्नु—यी उपलब्धिको अर्थ अझ फराकिलो छ । उपचारपछि पनि जीवनलाई कसरी अघि बढाउने भन्ने यही प्रश्नबाट सुरु भएको एउटा प्रयासले पोखराको सानो क्लिनिकबाट ७ दशकभन्दा लामो यात्रा तय गरेको छ । कुष्ठरोग उपचारबाट सुरु भएको इन्टरनेसनल नेपाल फेलोसिप (आइएनएफ) नेपालको काम अहिले अस्पताल, पुनःस्थापना, दीर्घरोगको स्याहार र दुर्गम समुदायको विकाससम्म फैलिएको छ ।
२००९ मा पोखरामा स्थापना भएको आइएनएफ नेपाल यस वर्ष ७४औं वर्षमा प्रवेश गरेको छ । विदेशी स्वयंसेवक र नेपालीहरूको संयुक्त प्रयासमा सुरु भएको संस्थाले सुरुमा सानो औषधालयबाट स्वास्थ्य सेवा दिएको थियो । २०१० मा पोखराको टुँडिखेलमा साइनिङ अस्पताल स्थापना भयो । २०१४ मा पोखराको नयाँगाउँमा हरियो खर्क कुष्ठरोग विशेषज्ञ अस्पताल सुरु गरियो । त्यसपछि स्वास्थ्य सेवासँगै समुदाय विकासका कार्यक्रम पनि थपिँदै गए ।
संस्थाले सन् २०१८ मा बागलुङको दुर्गम बस्ती बुर्तिबाङबाट समुदाय विकासको काम थालेको थियो । त्यसपछि म्याग्दी, बाँके, मुगु, दाङ, जुम्ला, सुर्खेतलगायत जिल्लामा कार्यक्रम विस्तार भए । अहिले आइएनएफ नेपालले स्वास्थ्य सेवा र समुदाय विकास गरी दुई मुख्य क्षेत्रमा काम गरिरहेको छ । नेपाल सरकारको समाज कल्याण परिषद् र आइएनएफ इन्टरनेसनलसँगको त्रिपक्षीय सम्झौताअन्तर्गत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १० जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको आइएनएफ नेपालका सूचना अधिकारी एकदेव देवकोटाले जानकारी दिए ।
स्वास्थ्य सेवातर्फ संस्थाका ३ अस्पताल छन्—पोखराको हरियो खर्क अस्पताल तथा बाँके र सुर्खेतको साइनिङ अस्पताल । यी अस्पतालबाट कुष्ठरोग, छालारोग, मेरुदण्डको चोट, हाडजोर्नी तथा नसासम्बन्धी समस्या, मस्तिष्क पक्षघात, अपांगता पुनःस्थापना, दीर्घरोगको स्याहार र प्रसूति फिस्टुलाको उपचार हुँदै आएको छ । स्वास्थ्य सेवाका ४ प्रमुख क्षेत्र अपांगता पुनःस्थापना, कुष्ठरोग तथा उपेक्षित उष्णप्रदेशीय रोग, दीर्घरोग तथा प्रशामक स्याहार र महिला तथा बालस्वास्थ्य हुन् ।






