पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार निर्वाचनको जनमतको दम्भमा कानुनभन्दा माथि बस्न खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले सोमबार पोखरामा आयोजना गरेको बधाई तथा भेटघाट कार्यक्रममा उनले सत्तापक्षले कांग्रेसलाई विभाजित गर्न खोजिरहेको बताएका हुन् ।
मुद्दा फैसला हुनुपर्ने विषय उठिरहँदा सत्ताले नै ‘दुईवटा कांग्रेस’ बनाउन लागिरहेको पौडेलको भनाइ छ । अडान नछाड्न उक्साउँदै सत्ताले अनुकूल बनिदिने आश्वासन दिएर सरकारले ‘ब्याकिङ’ गरिरहेको उनले आरोप लगाए । हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्दै उनले पार्टी छाड्न लागेका तल्ला तहका नेता–कार्यकर्तालाई रोक्नुपर्नेमा जोड दिए । ‘चुनदेवीको नेतृत्व लेबलका अग्रज नेताहरुलाई समेट्ने अहिले तत्काल स्थिति बन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘तर वडा तहमा, पालिका तहमा, क्षेत्र तहमा, जिल्ला तहमा जो पार्टीको इमान्दार, जनतामा प्रभाव भएको साथी हुनुहुन्छ, उहाँ जान लाग्नुभएको छ भने हामीले नै फर्काउने कोसिस गरौं ।’ भूमिका दिने सन्दर्भमा पार्टीले फराकिलो दायरा निर्माण गर्न सक्ने उनले स्पष्ट पारे ।
एउटा निर्वाचनमा जनमत पाउँदैमा कोही सर्वेसर्वा र संविधान तथा कानुनभन्दा माथि हुन नसक्ने पौडेलले बताए । सरकारका गलत कामविरुद्ध बोल्नै नहुने र मुखमा बुजो लगाएर बस्नुपर्ने मनोविज्ञान कांग्रेसले स्वीकार नगर्ने उनको भनाइ थियो । अत्याचार, अन्याय र विभेदविरुद्ध तथा कानुन कार्यान्वयनका निम्ति कांग्रेस जन्मिएको बताउँदै उनले लोकतन्त्र रक्षाका लागि पछि नहट्ने जिकिर गरे । ‘जति तर्साउन खोजे पनि कांग्रेस तर्सिन्न भन्ने कुरा नै हामीले स्थापित गर्नुपर्छ, लोकतन्त्रका विरुद्ध सौदाबाजी गर्दैन भन्ने कुरा नै हामीले स्थापित गर्न सक्नुपर्छ,’ उनले भने, ‘कांग्रेस छ, त्यसकारण लोकतन्त्र जाँदैन भन्ने कुरा स्थापित गर्न सक्नुपर्छ संसदमा संख्या कम भए पनि बहुदलीय संसदीय व्यवस्था र लोकतन्त्रको वकालत गर्ने भएकाले नागरिकको विश्वास कांग्रेसप्रति नै रहेको उनले दाबी गरे ।






