पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी गण्डकी पिएम कप महिला टी–२० छनोट प्रतियोगितामा स्याङ्जा जिल्ला र कास्की जिल्लाले शानदार जित हात पारेका छन् । प्रतियोगिताअन्तर्गत भएको पहिलो खेलमा स्याङ्जा जिल्ला महिला टोलीले बागलुङ जिल्ला महिला टोलीलाई ९० रनको भारी अन्तरले पराजित गरेको छ । खेलमा बागलुङकी कप्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी थिइन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्याङ्जाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२७ रनको योगफल तयार पारेको थियो । स्याङ्जाका लागि कप्तान सिमाना केसीले उत्कृष्ट प्रदर्शन गर्दै ३४ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाइन् ।
त्यस्तै, भावना भट्टराईले २८ बलमा १९ रन नटआउट र सेरिना थापाले १५ बलमा १ चौकासहित १६ रन जोडिन् । अन्य बटरहरूमा श्रेया शाहले १० रन, आर्मिना अधिकारीले ९ रन, अपेक्षा बुढाथोकीले २ रन, भुम गैह्रेले २ रन नटआउट र रञ्जना साउदले १ रन योगदान गरिन् । अतिरिक्त रनबापत स्याङ्जाले ३० रन प्राप्त गर्यो । बागलुङका तर्फबाट बलिङतर्फ कुसुम राईले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन् । यसैगरी, हिरा घर्ती मगर र अनुजा सुनारले एक–एक विकेट हात पारे ।
१२८ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको बागलुङ जिल्ला महिला टोली ११.४ ओभरमा ३७ रनमै समेटियो । बागलुङका लागि सुप्रिया घर्ती मगरले १३ बलमा १ चौकासहित ९ रन र अनुजा सुनारले १४ बलमा ८ रन बनाउनुबाहेक अन्य बटरले दोहोरो अंक छुन सकेनन् । दिपिका पौडेलले ६ रन, सिमरन घर्ती क्षेत्रीले २ रन र सुप्रिया खड्काले १ रन जोडिन् । स्याङ्जाको अनुशासित तथा घातक बलिङसामू बागलुङका बटरहरू टिक्न सकेनन् । स्याङ्जाका लागि कप्तान सिमाना केसीले अत्यन्त किफायती बलिङ गर्दै २ ओभरमा २ मेडन राख्दै शून्य रन दिएर ३ महत्वपूर्ण विकेट लिइन् । त्यस्तै, रञ्जना साउदले ४ ओभरमा १० रन खर्चेर ३ विकेट झारिन् । यस्तै, भावना भट्टराई, दिया राना, अपेक्षा बुढाथोकी र सलिन सेनले एक–एक विकेट आफ्नो नाम गरे । ब्याटिङतर्फ महत्वपूर्ण ३४ रन बनाउनुका साथै बलिङतर्फ २ ओभरमा २ मेडन राख्दै कुनै पनि रन नदिई ३ विकेट लिँदै उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी स्याङ्जाकी कप्तान सिमाना केसी प्लेयर अफ द म्याच घोषित भइन् ।
यसैगरी, अर्को खेलमा पर्वतको ब्याटिङ कमजोर हुँदा कास्कीले १२ रनको जित निकालेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कास्की १९.२ ओभरमा ६८ रनमै अलआउट हुन पुग्यो । कास्कीका लागि रिया तामाङ र चन्द्रमायालेबाहेक अन्य बटरले गतिलो रन जोड्न सकेनन् । रियाले १४ तथा चन्द्रमायाले १२ रन बनाइन् । कप्तान तथा ओपनर सिर्जना पौडेल ५, रेखा तामाङ ३, यशोदा भुजेल ८ र रोजी परियार १ रनमा आउट भइन् । यस्तै सम्झना विक, मेघा खड्का र सुशिला डिमडुङ तामाङ शून्यमै आउट भइन् । वर्षा पौडेल शून्यमा नटआउट रहिन् । पर्वतका लागि जेनिशा शर्माले ४ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिइन् । अनुषा पौडेलले ४ ओभरमा ९ रन खर्चेर २ तथा जिविका क्षेत्री, प्रतिमा खड्का र कप्तान कृषा अखेलीले समान एक–एक विकेट लिइन् ।






