पोखरा । प्रधानमन्त्री बनेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा नयाँदिल्ली पुगेका वालेन्द्र शाहले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गर्दै द्विपक्षीय सहकार्यका एजेन्डा अगाडि बढाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा रहेका शाहको यो यात्राले झन्डै डेढ दशकदेखि अड्किएको नयाँ हवाई प्रवेशमार्ग अर्थात् एयर रुटमा ब्रेक थ्रु दिलाउने, ऊर्जा तथा सम्पर्क सञ्जाल विस्तार गर्ने र नेपालमा भारतीय लगानी भित्र्याउने ठोस उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।
नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा शाह र जयशंकरले नेपाल र भारत सम्बन्धका विविध पक्षमा छलफल गरे । विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य सुदृढ बनाउने विषयमा दुई नेताबीच कुराकानी भएको छ ।
भ्रमणको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा लामो समयदेखि नेपालले उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्गमा सहमति जुट्ने सम्भावना बलियो बनेको छ । झन्डै डेढ दशकदेखि कूटनीतिक तथा प्राविधिक तहमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको यस विषयमा भारतीय पक्ष सकारात्मक देखिएपछि भ्रमणलाई निर्णायक मानिएको छ । नेपालले महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र जनकपुरबाट थप हवाई मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ । पछिल्लो द्विपक्षीय छलफलमा महेन्द्रनगरबाट ३९ हजार फिट उचाइबाट जहाज प्रवेश गर्न दिन तथा भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउन भारत सकारात्मक देखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
नेपालले तत्काल सम्भव हुने तीन वटा हवाई प्रवेश मार्ग सञ्चालनमा ल्याएर बाँकी विषय क्रमशः वार्ताबाट टुङ्ग्याउन प्रस्ताव गरेको छ । तर भारतले छुट्टाछुट्टै सहमति गर्नुभन्दा समग्र प्याकेजमै समझदारी गर्नुपर्नेमा जोड दिएको छ । महेन्द्रनगरबाट जहाज नेपाल प्रवेश गर्न पाउने गरी हवाई मार्ग उपलब्ध गराउन भारत तयार देखिएको छ । त्यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउन भारत सकारात्मक छ, मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भने । उनले थपे, भारतीय पक्षले प्याकेजमै सहमति खोजेको छ । हाम्रो तर्फबाट भने छुट्टाछुट्टै सहमति गरेर पहिला तीन क्षेत्रमा हवाई प्रवेश सुरु गरौँ र बाँकी विषय क्रमशः संवादबाट टुंग्याउँदै जाऔँ भन्ने प्रस्ताव गरेका छौँ ।
महेन्द्रनगरबाट हवाई मार्ग उपलब्ध भएमा पश्चिम क्षेत्रबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानलाई वैकल्पिक मार्ग प्राप्त हुनेछ । हाल अधिकांश अन्तर्राष्ट्रिय जहाजले बाराको सिमरा प्रवेश बिन्दु प्रयोग गर्नुपर्ने बाध्यता छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो रकम लगानी भए पनि भारतीय हवाई क्षेत्रको सहज प्रवेश तथा बहिर्गमन मार्ग नहुँदा अपेक्षित उडान विस्तार हुन सकेको छैन । जनकपुर, भैरहवा र महेन्द्रनगरबाट नयाँ रुट खुलेमा क्षेत्रीय हवाई सम्पर्क विस्तार भई पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । विसं २०७१ साउन १८ गते मोदीको पहिलो नेपाल भ्रमण र विसं २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा पनि यो एजेन्डा उठेको थियो । यसपटक भ्रमणअघि नै पर्यटनमन्त्री खडकराज पौडेलले सांघाइ सहयोग संगठन अर्थात् एससिओको मञ्चमा र सहसचिव आचार्यसहितको टोलीले भारतीय नागरिक उड्डयन मन्त्रालयका अतिरिक्त सचिव पुनित कंशलसँग छलफल गरी वातावरण तयार पारेका थिए ।
हवाई रुटसँगै भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न परियोजनाको उदटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । व्यापार, पारवहन, लगानी, ऊर्जा र पूर्वाधार विकासमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा उच्च नेतृत्वबीच छलफल हुनेछ । यस्तै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासजस्ता क्षेत्र समेटिएका विभिन्न समझदारीपत्र अर्थात् एमओयू आदानप्रदान गरिनेछन् ।
भ्रमणकै क्रममा नेपालभारत बिजनेस फोरमको कार्यक्रम आयोजना गरी भारतीय व्यवसायी समुदायलाई नेपालमा लगानी गर्न आह्वान गरिनेछ, जसले दुई देशका व्यवसायीबीच सहकार्यको सेतु बनाउने अपेक्षा छ ।
भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने र राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ । शाह भ्रमण सम्पन्न गरी सोमबार साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ ।
प्रधानमन्त्री शाहको ३५ सदस्यीय औपचारिक भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग सचिव रुद्रसिंह तामाङ र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत यांकी उक्याबलगायत उच्चपदस्थ अधिकारी सहभागी छन् । निजी क्षेत्रबाट आफ्नै व्यवस्थापनमा व्यवसायी, उद्यमी र सञ्चारकर्मी पनि भारत पुगेका छन् ।
यसअघि आइतबार दिउँसो स्थानीय समयअनुसार ३ः१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्दा शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले झाँकीसहित स्वागत गरेका थिए । स्वागतका अवसरमा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारलगायत उपस्थित थिए ।





