पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि नेपाल–भारत सहकार्यका लागि जोइन्ट भिजन डकुमेन्ट र साझा उपलब्धि समेटिएको जोइन्ट प्रेस रिलिज प्रस्तुत गरिएको छ । भारतको राजकीय भ्रमणमा रहेका शाहले वार्ताका क्रममा विविध क्षेत्रमा महत्वपूर्ण समझदारी र पूर्वाधारको उद्घाटन एवं शिलान्यास भएको तथा रेल सेवा शुभारम्भ गरिएको जानकारी दिए ।
वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री शाहले शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युगसापेक्ष बनाउने उद्देश्यसहित द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा गहन, सार्थक र दूरगामी छलफल भएको बताए । ‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ; युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ; विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ,’ उनले भने ।
शाहले पशुपतिनाथ, माता जानकी तथा करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद एवं नेपाली जनताको स्नेह, प्रेम र सद्भाव भारत र यहाँका जनताका लागि लिएर आफू राजकीय भ्रमणमा आएको उल्लेख गरे । उनले हार्दिक निमन्त्रणा र न्यानो आतिथ्यताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे । पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धको मूल आधारशिला रहेको तथा यसको केन्द्रमा दुई देशका जनता रहेको उनले बताए ।
नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको बताउँदै शाहले यस आत्मीय निकटतालाई शब्दको सीमिततामा बाँध्न नसकिने धारणा राखे । एक विश्वसनीय छिमेकीका रूपमा भारतले हरेक प्राकृतिक विपद् र कठिन घडीमा अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएकोमा उनले भारत सरकार र जनताप्रति कृतज्ञता व्यक्त गरे ।
ऐतिहासिक उपलब्धिहरूले नेपाल–भारत सम्बन्धलाई नवीन उचाइमा पुर्याउने पूर्ण विश्वास व्यक्त गर्दै शाहले चिरस्थायी सम्बन्धको सुदृढ जगमा उभिएर भविष्यका लागि बलिया स्तम्भ निर्माण गर्नु आजको आवश्यकता रहेको बताए । स्वच्छ जलका स्रोत हिमालयले यस क्षेत्रका करोडौँ जनतालाई जीवन दिइरहेको तथा हिमालयबाट बगेर गंगामा मिसिने निर्मल नदीहरूले भविष्य र गन्तव्यको स्मरण गराउँदै जलवायु परिवर्तनका चुनौतीलाई सहकार्यमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता उजागर गर्ने उनले उल्लेख गरे ।
नेपाल र भारतबीचको सम्बन्ध भगवान् श्रीराम र माता जानकीको पावन युगदेखि नै ऐतिहासिक, सांस्कृतिक र सभ्यताको आधारमा गाँसिएको भन्दै शाहले यसलाई थप जीवन्त बनाउन रेल सेवाको शुभारम्भ गरिएको जानकारी दिए । पुर्खाले स्थापित गरेको बलियो ऐतिहासिक जगलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत सम्बन्धलाई नयाँ युगको आवश्यकता अनुरूप रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्ने एवं नवयुवापुस्ताका लागि सम्भावनाको ढोका खोल्ने असाधारण जिम्मेवारी समयले सुम्पेको उनले बताए ।
साझा आर्थिक समुन्नतिमा साझेदारीका लागि भारतीय लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्दै शाहले आगामी दिनमा भारतीय विद्यार्थीहरू नेपालमा स्थापना हुने आईआईटीमा अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने बताए । साथै उनले नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्ने दिशामा अघि बढ्नुपर्ने धारणा राखे ।
शाहले सम्पूर्ण नेपाली जनताका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिए । उनले मित्रराष्ट्र भारतका जनतालाई हिमालयको काखमा अवस्थित मुक्तिनाथ, पशुपतिनाथ, तराईको समथर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपाल भ्रमणका लागि निमन्त्रणा दिए ।
सम्बोधनको अन्त्यमा शाहले विश्वास हिमालझैँ अग्लो, सहकार्य नदीझैँ अविरल बग्ने र दुवै राष्ट्रको समृद्धि साझा आकाशमुनि फक्रिने मित्रताको कामना गर्दै सबैको जय होस् भनी सम्बोधन टुंग्याए ।





