[adrotate banner =”6″]
पोखरा, ४ जेठ ।
पोखरा सिमलचौर स्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका हुन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र नारायण बिजुक्छेले नियुक्तिपत्र दिई खड्कालाई क्याम्पस प्रमुखमा पदस्थापन गराएका हुन ।
अध्यक्ष बिजुक्छेले विद्यमान चुनौतीलाई पार लगाई क्याम्पसको बृहत्तर विकास र शैक्षिक गुणस्तर सुधारका लागि काम गर्न सुझाउँदै क्याम्पसको प्रशासनिक र प्राज्ञिक उन्नयनमा लाग्न खड्कालाई शुभकामना दिएका हुन ।
नवनियुक्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले पदभार ग्रहण गर्दै क्याम्पसको आन्तरिक नीतिनियमलाई चुस्तदुरुस्त व्यवस्थित बनाई समस्या समाधान गर्ने, विश्वविद्यालय अनुदान आयोगको कामलाई गतिशील बनाउने, शिक्षक कर्मचारीको वृत्ति विकासका लागि ठोस काम गर्ने, त्रिभुवन विश्वविद्यालयबाट नयाँ शैक्षिक कार्यक्रम ल्याउने, क्याम्पसलाई केन्द्रमा राखी जनप्रियको साख र गरिमा बढाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्न लागी पर्ने बताएका छन् ।
खड्काले आफ्नो सक्रियता र सकारात्मक भूमिकालाई प्रभावकारी बनाउँदै बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता गरे । विगत १५ वर्षदेखि अध्यापनरत उपप्राध्यापक खड्का अर्थशास्त्रका एमफिल हुन् । यसअघि उनी सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा थिए ।
२०७९ भाद्र २ गते मतदानबाट क्याम्पस प्रमुखमा छनौट भएका लोकराज भण्डारीले स्वअध्ययनका लागि राजिनामा दिएका थिए । क्याम्पस सञ्चालक समितिको जेठ ३ गतेको बैठकको निर्णय र क्याम्पस सञ्चालन सम्बन्धी नियमावली २०५४ को सातौँ संशोधन २०७६ को नियमानुसार खड्कालाई निमित्त क्याम्पस प्रमुखमा नियुक्त गरिएको प्रशासक एकनारायण अर्यालले जानकारी दिएका हुन् ।
[adrotate banner =”3″]
[adrotate banner =”4″]
[adrotate banner =”5″]






