पोखरा । खेलकुद विकास मञ्च पोखराको आयोजनामा दोस्रो एमेचर फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता यही माघ ११ र १२ गते पैयुम स्पोट्र्स सेन्टर हस्पिटलचोकमा हुनेछ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, सम्बन्धका लागि खेलकुद’ भन्ने मूल नाराका साथ ‘याम (राम) बहादुर थापा स्मृति दोस्रो ६ ए साइड एमेचर फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं १८ बाट प्रतिभावान खेलाडीको विकास गर्ने मञ्चको उद्देश्य छ ।
प्रतियोगितामा ३० भन्दा बढी टिमको सहभागिता हुने मञ्च अध्यक्ष विक्रम थापा (म्याक्सवेल) ले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको विजेतालाई नगद ६० हजार र दोस्रो हुने टिमलाई ३० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिने उनले बताए ।






