आज पोखराको मौसम बिहानैदेखि सफा र घमाइलो, अन्यत्र कस्तो छ ?
पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
गण्डकी प्रदेशको राजधानी शहर पोखरामा आज बिहान करिब ९ बजेको तापक्रम १३ डिग्री सेल्सियस छ । आज पोखराको न्यूनतम् तापक्रम ९ डिग्री र अधिकतम् तापक्रम २२ डिग्री पुग्ने अनुमान गरिएको छ ।
पोखरामा आज बिहानैदेखि मौसम सफा भई घाम लागेको छ भने चिसो पनि क्रमशः कम हुँदै गएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली रहने सम्भावना छ ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।





