पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २ भुर्जुङखोलास्थित घोप्टेडाँडालाई धार्मिक तथा पर्यटकीय विकासका लागि शिवालय एकीकृत धार्मिक विकास समिति गठन गरिएको छ ।
सोही वडाका वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता गणेशप्रसाद आचार्यको उपस्थितिमा भएको भेलाले समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा कृष्णप्रसाद गौतम चयन भएका छन् । यस्तै समितिको उपाध्यक्षमा छबीलाल गुरुङ, सचिव टेकराज आचार्य, सहसचिव जमुना गुरुङ र कोषाध्यक्ष युनिषा तामाङ छन् ।
यसैगरी सदस्यमा ढकमाया आचार्य, श्रीप्रसाद घले, लीला क्षेत्री, ओमबहादुर तामाङ, तोजाबहादुर गुरुङ र खुशीमान परियार छन् ।
घोप्टेडाँडालाई धार्मिक गन्तव्यका रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने उद्देश्यले स्थानीय शिवालय मन्दिर व्यवस्थापन समितिले गत भदौ पहिलो साता श्रीमद्भागवत महापुरारण तथा ज्ञानमहायज्ञ आयोजना गरिएको थियो ।
घोप्टेडाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित गैराखेल मैदानमा महायज्ञ आयोजना गरिएको थियो ।






