चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित इच्छाकामना मन्दिरमा धार्मिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
इच्छाकामना मन्दिरमा प्रचारप्रसार र मन्दिर पुनः निर्माणसँगै पर्यटकरुको आवागमन बढेको मन्दिरका पूजारी हर्कबहादुर गुरुङले जानकारी दिए ।
शनिबार र सार्वजनिक बिदाको दिन मन्दिरमा दर्शनार्थीको भीड नै लाग्ने गरेको छ ।
मन्दिर पुनःनिर्माणलगायत विभिन्न आवश्यक संरचना बनेका छन् । पछिल्लो केही वर्षयाता प्रचारप्रसार बढेकाले पनि दर्शनार्थीको आवागमन बढेका हो ।
यहाँको सुन्दर दृश्य अवलकोन गर्न र पिकनिक मनाउन पनि पर्यटक आउने गरेको पूजारी गुरुङको भनाइ छ ।
समुद्री सतहबाट एक हजार आठ सय मिटरको उचाइमा रहेको ईच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ ।
फागुन र चैतमा ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्र्रे देख्न सकिन्छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार धार्मिक पर्यटकीयको रूपमा विकास हुँदै गएको र यस क्षेत्रमा मन्दिर पुनःनिर्माणसहित आवश्यक विभिन्न भौतिक संरचना निर्माण गरिएको छ ।
पूजारी र हेरालु सरसफाइका कर्मचारीलाई गाउँपालिकाले मन्दिरको भेटी आम्दानीबाट तलब उपलब्ध गराउँदै आएको छ । यहाँ लिफ्टिङ प्रविधिबाट खानेपानीको पनि व्यवस्था गरिएको छ ।
मनकामनाका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंबदन्ती छ । ईच्छाकामनाको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्ने सदियौँदेखि जनविश्वास छ ।
इच्छाकामना मन्दिरमा प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा ठूलो मेला लाग्छ । मेलाका दिन गाउँपालिकाले सार्वजनिक बिदासमेत दिँदै आएको छ ।
मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेका छन् ।






