पोखरा । यु १९ महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पनि पराजित भएको छ ।
आज बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर मात्र ७३ रन बनाएको थियो ।
७४ रनको विजय लक्ष्य स्कटल्याण्डले १८दशमलव चार ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो ।
पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल आज स्कटल्याण्डसँग एक विकेटले पराजित भएको हो । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ ।
नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा सर्वाधिक २७ रन बनाइन् । यस्तै साबित्री धामीले १० रन जोडिन् ।
त्यसबाहेक नेपालका कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । स्कटल्याण्ड माइसी मेसेरियाले १५ रन खर्चेर सर्वाधिक पाँच विकेट लिइन् ।
जवाफमा नेपालले कसिलो बलिङ गर्दै दबाबमा राखेको भए पनि स्कटल्याण्डले १८दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा जित हासिल गर्यो ।
विकेटकिपर पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन बनाएको इनिङ्समा रचना चौधरी र सीमना केसीले समान दुई-दुई तथा पूजा महतो र करिष्मा गुरुङले एक-एक विकेट लिए ।
तीन खेलाडी रनआउट भएका थिए । अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार अष्ट्रेलियासँग खेल्नेछ ।






