पोखरा । पोखरामा सोमबार राति सवारी दुर्घटना हुँदा दुई युवक घाइते भएका छन् । घाइते हुनेमा कास्कीको मादी गाउँपालिका वडा नं ४ का २० वर्षीय विशाल थापा छन् ।
उनको अवस्था गम्भीर रहेको र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक शिव पाठकले जानकारी दिए ।
सोही दुर्घटनामा पोखरा-१४ चाउथेका २४ वर्षीय विधान विष्ट पनि घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको पाठकले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नं १२ ढिकालेथरमा सोमबार राति ९ः५५ बजे थापा सवार ग१३प९८४४ नम्बरको स्कुटर र विष्ट सवार ग१४प ६४४१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरी वरिष्ठ नायव निरीक्षक थापाले जानकारी दिए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






