पोखरा, पोखरा महानगरपालिका वडा नं. ७ ले आफ्नो पदस्थापनाको अवसर पारेर हेमजा स्थित मानव सेवा आश्रममा आर्थिक तथा खाद्य सामग्री सहयोग हस्तान्तरण गरेको छ। २०७९ साल जेठ १२ गते जनप्रतिनिधिहरूले आफ्नो पदभार ग्रहण गरेको दिनको स्मरणमा आयोजित कार्यक्रममा वडाले आश्रमलाई ४० हजार रुपैयाँ बराबरको सहयोग गरेको हो।
पदस्थापनाको यो तेस्रो वार्षिकोत्सव अवसरमा वडाध्यक्ष राम मोहन आचार्यसहित सम्पूर्ण वडा जनप्रतिनिधिको सहभागिता रहेको थियो। वडाध्यक्ष आचार्यले विगत तीन वर्षदेखि भौतिक पूर्वाधार विकास मात्र नभई सामाजिक उत्तरदायित्व स्वरूप मानव सेवामा समेत ध्यान दिएको उल्लेख गर्दै विगत दुई वर्षदेखि मानव सेवा आश्रममा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए। उनले भने, “खाना र लुगाफाटाका साथै आवश्यक परेमा नाना उपलब्ध गराउँदै आश्रममा बसोबास गरिरहेका बेसहारा व्यक्तिहरूको जीवनमा केही सहजता ल्याउन सकिएको छ।”
कार्यक्रममा वडा सचिव राजेन्द्र पौडेलले केवल खाद्यान्न मात्र नभई आत्मालाई शान्ति मिल्ने खालका कार्यमा सहयोग गरिनु विशेष महत्त्वपूर्ण रहेको बताए। उनले वडाले बेसहाराहरूलाई सम्मानजनक जीवन यापनमा मद्दत पुर्याएको भन्दै जनप्रतिनिधिको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे।
पोखरा महानगरपालिका वडा नं. ७ मा वडा अध्यक्ष राम मोहन आचार्य सहित वडा सदस्यहरू बसुन्धरा लामिछाने, बिष्णु मणि बराल, सुनिता सुनार र अर्जुन बहादुर भुजेल थापा रहेका छन् । मानव सेवा आश्रमका प्रतिनिधिहरूले वडाको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गरेका थिए।






